रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले बुधबार बयानका लागि बोलाएको छ ।

ललितपुरको नक्खु कारागारमा रहेका लामिछानेलाई दिउँसो सिंहदरबारस्थित आयोगको कार्यालयमा पुर्‍याइएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे आयोगले बयान लिँदैछ । सो घटनाको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो।

सहकारीका बचतकर्ताको रकम हिनामिनाको आरोपमा लामिछाने कारागारमा छन् । उनी २४ भदौमा अन्य कैदीबन्दीसँगै असुरक्षाको कारण देखाउँदै कारागार प्रशासनको पत्रका आधारमा बाहिर निस्किएका थिए। तर, सो पत्रको आधिकारिकता र प्रक्रिया सम्बन्धी प्रश्न उठेपछि लामिछाने पुनः कारागार फर्किएका थिए ।

जाँचबुझ आयोगले यसअघि कारागारका प्रमुख सत्यराज जोशीसँग बयान लिइसकेको छ भने सोमबार आयोगको टोली नख्खु कारागार पुगेर घटनाको वस्तुस्थिति अध्ययन गरेको थियो ।

आयोगले लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसँग पनि बयान लिने तयारी गरेको बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।