काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपाल सरकारले रु ५० अर्ब ६० करोड बराबर अतिरिक्त ऋण लिएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्म कुल सरकारी ऋण रु २६ खर्ब ७४ अर्ब ४ करोड थियो, जुन असोज मसान्तसम्म बढेर रु २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको हो। हाल सरकारले लिन बाँकी कूल ऋण देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.६१ प्रतिशत बराबर रहेको कार्यालयले जनाएको छ।
असोज मसान्तसम्म कूल ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.०९ प्रतिशत (रु १४ खर्ब ४६ अर्ब ५८ करोड) र आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत (रु १२ खर्ब ७८ अर्ब ७ करोड) रहेको छ।
चालु आर्थिक वर्षका लागि सरकारले रु ५ खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। त्यसमा पहिलो त्रैमाससम्म रु एक खर्ब ८४ करोड ऋण प्राप्त भइसकेको छ, जुन वार्षिक लक्ष्यको १६.९३ प्रतिशत हो।
आन्तरिक ऋणतर्फ सरकारले रु ३ खर्ब ६२ अर्ब उठाउने लक्ष्य राखेकोमा असोज मसान्तसम्म रु ९० अर्ब (२४.८६%) उठाइसकेको छ। वैदेशिक ऋणतर्फ रु २ खर्ब ३३ अर्ब ६६ करोडको लक्ष्य रहेकामा हालसम्म रु एक अर्ब ८४ करोड (४.६५%) मात्रै प्राप्त भएको छ।
यसैबीच, ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि सरकारले चालु वर्षमा रु ४ खर्ब ११ अर्ब एक करोड बजेट छुट्याएको छ। असोज मसान्तसम्म रु एक खर्ब ९ अर्ब ८९ करोड भुक्तानी भइसकेको छ, जुन कुल विनियोजनको २६.७४ प्रतिशत हो। कुल जीडीपीको आधारमा ऋण सेवा खर्च एक दशमलव ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ।

 
		    		 About Us
                        About Us
Comment