एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनसेलले आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोलेलाई नियुक्त गरेको छ। फोलेको नियुक्ति आगामी कार्तिक १५ गते (२०८२) देखि लागू हुने एनसेलले जनाएको छ।

फोलेको नियुक्तिसँगै कार्यवाहक सीईओको रूपमा कार्यरत सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)का रूपमा आफ्नो भूमिकालाई निरन्तरता दिनेछन्।

दुई दशकभन्दा बढी समयदेखि दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्व भूमिकामा अनुभव सँगालेका फोलेले एयरटेल, टेलिनोर पाकिस्तान, ग्रामीणफोन (बंगलादेश) र टेलिनोर बुल्गेरिया जस्ता प्रमुख अन्तर्राष्ट्रिय कम्पनीहरूमा सीईओका रूपमा कार्य गरिसकेका छन्। उनले यी कम्पनीहरूमा व्यवसायिक रूपान्तरण, बजार विस्तार र नाफा वृद्धि जस्ता क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका थिए।

एनसेलमा आवद्ध हुनु अघि फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखका रूपमा सातवटा अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी वहन गरेका थिए। उनले टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा, पाकिस्तान) र टेलिनोर हेल्थका अध्यक्षका रूपमा पनि काम गरेका थिए।

नियुक्तिपछि आफ्नो धारणा व्यक्त गर्दै फोलेले भने, “काठमाडौंमा एनसेलको जिम्मेवारी लिन पाउँदा म अत्यन्त सम्मानित महसुस गरिरहेको छु। एनसेल देशका लागि महत्वपूर्ण पूर्वाधार हो, जसले डिजिटल रूपान्तरण, आर्थिक प्रतिस्पर्धात्मकता र विदेशी लगानीमा योगदान पुर्‍याउने ठूलो सम्भावना बोकेको छ।”

एनसेलको सञ्चालक समितिले फोलेप्रति विश्वास व्यक्त गर्दै उनको अनुभव र रणनीतिक दृष्टिकोण कम्पनीको रूपान्तरण र दीर्घकालीन विकासका लागि महत्वपूर्ण हुने बताएको छ।

म्याकगिल विश्वविद्यालयका स्नातक फोलेले इनसीड (INSEAD)बाट ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्समा एक्सिक्युटिभ सर्टिफिकेट प्राप्त गरेका छन्। उनी क्यानडा र केन्या दुबै देशका नागरिक हुन्।

सन् २००४ मा स्थापना भई २००५ देखि सेवा दिइरहेको एनसेल नेपालकै पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।