काठमाडौं । ‘जेनजी’ अभियन्ता भन्दै विभिन्न सरकारी निकायमा धम्की दिने कार्यमा संलग्न अछामका अर्जुन बहादुर शाही पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, २६ वर्षीय शाहीलाई बुधबार साँझ कोटेश्वरबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका एसपी पवन भट्टराईका अनुसार, शाहीको साथबाट प्रहरी सहायक निरीक्षक (असई) कुमार शर्माको परिचयपत्रसमेत बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनले उक्त परिचयपत्र प्रयोग गरी चावहिलका विभिन्न होटलमा बस्दा आफूलाई उच्च सुरक्षा अधिकारीका रूपमा परिचय दिँदै आएको खुलेको छ।
शाहीले सोधपुछका क्रममा चावहिलस्थित होटलमा बस्नका लागि असई शर्माको परिचयपत्र देखाएको स्वीकार गरेका छन्। असई शर्माले भने आफ्नो परिचयपत्र ‘जेनजी आन्दोलन’ का क्रममा हराएको बताएका छन्।
अछामको पञ्चदेवल नगरपालिका–४ स्थायी ठेगाना भएका शाही फरार अभियुक्त समेत हुन्। उनीमाथि बैंकिङ कसुर, वैदेशिक रोजगारी ठगी र अन्य आपराधिक गतिविधिमा संलग्न भएको आरोप छ। उनले रामेछापको सुनापति गाउँपालिका–२ का तीन जना र अन्य छ व्यक्तिलाई कोरिया पठाइदिने बहानामा ठगी गरेको प्रहरीले जनाएको छ। प्रत्येक पीडितबाट करिब १२ लाख रुपैयाँका चेक लिएको र ती चेक बाउन्स भएको उजुरी काठमाडौं प्रहरीमा परेको छ।
शाहीले नागरिक उड्डयन प्राधिकरण, वायुसेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायमा ‘ज्ञापनपत्र’को नाममा धम्की दिएका थिए। सरकार विस्तारपछि उनले उच्च पदस्थ अधिकारीहरूलाई धम्क्याउने प्रयास गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
उनी पूर्वप्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री नियुक्तिपछि शीलत निवासमा आयोजित शपथग्रहण समारोहमा समेत देखिएका थिए। अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले शाहीविरुद्ध बैंकिङ कसुर, ठगी र आपराधिक धम्कीसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
Comment