झापा । तिहार तथा छठ पर्वलाई लक्षित गरी चोरी तस्करीको माध्यमबाट भित्राइएको साढे ७ लाख मुल्य बराबरको विस्फोटकजन्य पदार्थ पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ।
भद्रपुर नगरपालिका–३ मेचीपारिस्थित झोलुङ्गे पुल आसपासको क्षेत्रबाट अन्दाजी ७ लाख ६६ हजार ८७६ रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित बारुदजन्य पटाका सशस्त्र प्रहरीले मंगलबार बिहान साढे ४ बजे बरामद गरेको थियो।
भारतबाट मेची नदी तैरिएर तस्करहरूले टाउकोमा बोकेर नेपाल भित्र्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाको टोलीले सात बोरा पटाका बरामद गरेको गणका प्रवक्ता तथा डीएसपी सुमन पोखरेलले जानकारी दिए। सशस्त्रले देखेपछि तस्कर समूह पटाका बोराहरू छाडेर भारततर्फ भागेका थिए।
बरामद गरिएको विभिन्न १९ प्रकारका पटाकाहरू मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापामा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र पत्रकारको रोहबरमा नष्ट गरिएको थियो। पछिल्लो समयमा मेचीपारिस्थित झोलुंगे पुल आसपासको क्षेत्रबाट ठूला मात्रा भन्सार छलीका सामानसहित पटाकाहरू भित्रिरहेको छ।
Comment