राष्ट्रिय सुरक्षा परिषद्को बैठकः देशको समग्र शान्ति सुरक्षाको समीक्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। मुलुकमा उत्पन्न पछिल्लो सुरक्षा अवस्था र बाह्य सुरक्षा चुनौतीबारे छलफल भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबारमा सोमबार परिषद्को ४० औँ बैठकमा सुरक्षा चुनौतीबारे छलफल भएको हो।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, मुख्य सचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल र रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालको उपस्थिति थियो। त्यस्तै प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीसमेतको उपस्थिति थियो।

राष्ट्रिय सुरक्षा परिषद्का सदस्यसचिव एवं रक्षा सचिव अर्यालले सुरक्षा परिषद्को बैठकमा मुलुकको वर्तमान सुरक्षा अवस्था, अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षालगायत समसामयिक
विषयमा समीक्षा गरिएको जानकारी दिए।

बैठकमा प्रहरी महानिरीक्षक खापुङ, सशस्त्र प्रहरी बलका प्रमुख अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख कार्कीले मुलुकको सुरक्षा अवस्थाको चर्चा गर्दै जेनजी आन्दोलनपछि उत्पन्न आन्तरिक सुरक्षा चुनौती, मुलुकको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा पर्न सक्ने असर साथै सम्भावित सुरक्षा जोखिमबारे छुट्टाछुट्टै जानकारी गराएका थिए। जेनजी आन्दोलनका क्रममा पाँच हजारभन्दा बढी कैदी विभिन्न जेलबाट फरार छन्।

प्रहरीले प्रयोग गर्ने झन्डै आठ सय हतियार र हजारौँको सङ्ख्यामा गोली लुटिएका छन्। कारागारबाट फरार कैदी र लुटिएका हतियारबाट गम्भीर सुरक्षा चुनौती बढ्न सक्ने भन्दै सुरक्षा निकायहरूले चिन्ता व्यक्त गरिरहेका छन्।

आन्दोलनका क्रममा अराजक समूहले प्रहरीका अधिकांश भवन तथा सवारी साधनमा क्षति पुर्‍याएका कारण शान्ति सुरक्षा र अपराध अनुसन्धानको मुख्य जिम्मेवारी बोकेको प्रहरी अप्ठ्यारो स्थितिमा पुगेको छ।

बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाको विश्लेषण र समग्र समीक्षा गरी आन्तरिक सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक कदम चाल्ने निर्णय भएको छ।

साथै बैठकमा अन्तर्राष्ट्रिय भूराजनीतिमा आइरहेको तीव्र परिवर्तन र त्यसले मुलुकको समग्र आन्तरिक तथा बाह्य सुरक्षामा पर्न सक्ने असर र चुनौतीबारे छलफल गरी थप सुरक्षा व्यवस्था मिलाउने निर्णय गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।