काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान ऊर्जामन्त्री दीपक खड्काको निवासमा भेटिएको भनिएको जलेका नोट सम्बन्धी घटनाको अनुसन्धान अघि बढाएको छ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएको आगजनीमा देउवा र खड्काको घरमा ठूलो मात्रामा नगद जलेको भन्दै विभिन्न भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए। सोही सामग्रीलाई आधार मान्दै विभागले घटनामा गम्भीर चासो दिँदै अनुसन्धान थालेको हो।
आइतबार विभागको टोली देउवा र खड्काको जलेको घरमा पुगेर नोटका टुक्रा र खरानी संकलन गरेको छ। विभागका अनुसार ती टुक्रा र खरानीको फरेन्सिक परीक्षण गरी उक्त नोट सक्कली हो कि होइन भन्ने पत्ता लगाइनेछ।
यदि संकलित टुक्राहरू सक्कली नोट भएको पुष्टि भएमा देउवा र खड्का दुबैलाई अवैध रूपमा सम्पत्ति भण्डारण गरेको आशंकामा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिने बताइएको छ।
तर, शेरबहादुर देउवाको सचिवालयले भने यस्ता सबै दावीलाई खारेज गर्दै निवासमा जलेको नोट भेटिएको भन्ने कुरा पूर्णरूपमा मिथ्या र योजनाबद्ध दुष्प्रचार भएको प्रतिक्रिया दिएको छ।
उक्त आगजनी भएको तीन दिनपछि मात्रै प्रहरीले घर वरिपरि प्रवेशमा रोक लगाएको थियो भने १३ दिनपछि मात्र विभागले औपचारिक रूपमा अनुसन्धान सुरु गरेको हो।
अबको छानबिनले यो विषय राजनीतिक हल्ला मात्र हो वा कुनै गम्भीर आर्थिक अनियमितताको संकेत हो भन्ने स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

Comment