सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समिति संयोजकमा नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल चयन भएका छन् ।

माल्दिभ्समा सम्पन्न सार्क सीसीआईको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई पर्यटन समिति संयोजकको जिम्मेवारी दिएको हो ।

व्यावसायिक घराना आइएमई समूहका अध्यक्षसमेत रहेका ढकाल चन्द्रागिरि हिल्सलगायत नेपालका सातै प्रदेशमा पर्यटन पूर्वाधार विकास तथा स्वदेशी ‘इला’ होटल चेन ब्रान्डका प्रवर्द्धक र लगानीकर्ताका रूपमा परिचित छन् ।

संयोजकमा चयन भएपछि ढकालले दक्षिण एसियालाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् । दक्षिण एसियाको भौगोलिक बनावट र सांस्कृतिक विविधता पर्यटनका दृष्टिले अद्वितीय रहेको उनको भनाइ छ ।

सगरमाथासहितका हिमशृङ्खला, हिन्द महासागरका टापु, विशाल समुद्री तट, जङ्गल, मरुभूमि तथा धार्मिक र ऐतिहासिक सम्पदाले यस क्षेत्रमा पर्यटनको अपार सम्भावना रहेको उनले उल्लेख गरेका छन् ।

विश्वको करिब एक चौथाइ जनसङ्ख्या बसोबास गर्ने दक्षिण एसिया आफैँमा विशाल आन्तरिक पर्यटन बजार भएकाले यसको सम्भावना उपयोग गर्न पर्यटन पूर्वाधारमा लगानी विस्तार र स्तरोन्नति आवश्यक रहेको ढकालले बताएका छन् ।

उनले सार्क राष्ट्रका प्रतिष्ठित होटल तथा आतिथ्य ब्रान्डलाई एकअर्काको देशमा विस्तार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । अन्तरदेशीय लगानी विस्तारले पुँजीसँगै ज्ञान, सीप र प्रविधिको आदानप्रदानलाई समेत प्रोत्साहन गर्ने उनको भनाइ छ ।

त्यस्तै, ‘सार्कभित्रै घुमौँ’ भन्ने अवधारणासहित क्षेत्रीय पर्यटन अभियान सञ्चालन गर्नुपर्ने उनले बताएका छन् । विभिन्न देशका पर्यटकीय गन्तव्य समेटेर साझा पर्यटन सर्किट तथा प्याकेज निर्माण गर्दै धार्मिक, सांस्कृतिक, पर्यावरणीय र साहसिक पर्यटनको आदानप्रदान बढाउन सकिने उनको धारणा छ ।

ढकालले क्षेत्रीय पर्यटन विकासका लागि हवाई तथा स्थलमार्गको कनेक्टिभिटी विस्तारलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सार्क राष्ट्रका प्रमुख सहरबीच सीधा हवाई तथा स्थलमार्गको पहुँच विस्तार गर्न सके पर्यटक, व्यवसायी र लगानीकर्ताको आवागमन सहज हुने उनको विश्वास छ ।

नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई सार्क राष्ट्रका प्रमुख गन्तव्यसँग सीधा हवाई सम्पर्कमा जोड्न सके क्षेत्रीय पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने उनले बताएका छन् ।

यी लक्ष्य हासिल गर्न सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ढकालले नीतिगत समन्वय र व्यावसायिक साझेदारीका लागि सार्क चेम्बरजस्ता क्षेत्रीय मञ्चले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।

समग्र दक्षिण एसियाको साझा पर्यटन विकास र आर्थिक समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको पनि उनले बताएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।