काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कुनै सदस्य धाक–धम्की वा लुटपाटमा संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउन आग्रह गरेको छ।
पार्टीले यस्ता सदस्यलाई कारबाहीमा सहयोग गर्ने मात्र नभई पार्टीबाटै हटाइने चेतावनीसमेत दिएको छ। मधेश प्रदेश कार्यालयका सहमहामन्त्री तथा संगठन विभाग प्रमुख गणेश धिमालले जारी गरेको विज्ञप्तिमा जेन–जी आन्दोलनमा घाइते भएकाहरूको निशुल्क उपचार सुनिश्चित गर्न र सहिद परिवारलाई गाँस, बास, कपास तथा रोजगारीको ग्यारेन्टी दिन सरकारसँग माग गरिएको छ। विज्ञप्तिमा सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सञ्चारकर्मीमाथि भएको तोडफोड तथा आगजनीको भर्त्सना गर्दै उनीहरूको मनोबल उच्च बनाउन सामाजिक संरक्षण अभियान सञ्चालन गरिने उल्लेख छ।
साथै, निजी सम्पत्ति, सरकारी कार्यालय, प्रहरी चौकी, विद्यालय र अन्य दलका कार्यालयमाथि भएको आक्रमणको विरोध गर्दै संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारबाहीका लागि प्रशासनलाई सहयोग गरिने स्पष्ट गरिएको छ। आन्दोलनमा पीडित भएकाहरूलाई राहत र सहयोग पुर्याउन सबै सदस्यलाई सक्रिय हुन अनुरोध गर्दै रास्वपाले जेन–जी आन्दोलनका मुद्दा र मागप्रति आफ्नो पूर्ण समर्थन रहेको प्रतिवद्धता व्यक्त गरेको छ।

Comment