काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतबीच द्विपक्षीय साझेदारीसम्बन्धी संयुक्त दृष्टिपत्र सार्वजनिक गरिने भएको छ।
‘समृद्ध नेपाल, समुन्नत भारत’ अवधारणामा आधारित १० बुँदे संयुक्त दस्ताबेज तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ। दुवै देशका अधिकारीहरूले आर्थिक वृद्धि, विकास र पारस्परिक लाभका क्षेत्रमा दीर्घकालीन सहकार्यका लक्ष्य तथा उपलब्धिका सूचकसहित दस्ताबेज तयार गरिरहेका छन्।
प्रधानमन्त्री शाहले आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा दुई देशबीच सहकार्यका प्राथमिकता पहिचान गर्नुका साथै संयुक्त वक्तव्य जारी गर्ने तयारीसमेत गरिएको छ।
प्रस्तावित दृष्टिपत्रमा आर्थिक साझेदारी, यातायात सम्पर्क सञ्जाल, लगानी, जलस्रोत तथा ऊर्जा, डिजिटल कनेक्टिभिटी, सुशासन, जनस्तरको सम्बन्ध, शिक्षा, स्वास्थ्य, खेलकुद, व्यापार तथा पारवहनलगायतका विषय समेटिनेछन्।
ऊर्जा क्षेत्रमा भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् आयात गर्ने प्रतिबद्धता जनाएजस्तै अन्य क्षेत्रमा पनि निश्चित लक्ष्य निर्धारण गर्ने तयारी भइरहेको छ। प्रत्येक क्षेत्रमा प्राथमिकता, लक्ष्य र उपलब्धिका सूचक तय गरी सहकार्यको प्रगति मूल्यांकन गर्ने योजना छ।
प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच भएका छलफलमा पनि संयुक्त दृष्टिपत्रबारे कुराकानी भएको थियो।
भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक सहायता प्याकेज, हवाई कनेक्टिभिटी, व्यापार तथा पारवहन, पूर्वाधार आयोजना, अयोध्या–जनकपुर सिधा रेल सेवा, डिजिटल कनेक्टिभिटी, जलवायु परिवर्तन, शिक्षा तथा खेलकुदलगायतका विषयमा विभिन्न समझदारी तथा सम्झौता हुने अपेक्षा गरिएको छ।
नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले पनि दुई देशबीचको सम्बन्धलाई दीर्घकालीन दृष्टिकोणबाट अघि बढाउन स्पष्ट साझा खाका आवश्यक रहेको बताएका छन्। उनले संयुक्त दृष्टिपत्र सार्वजनिक गरी त्यसको कार्यान्वयनमा दुवै सरकार तथा सरोकारवालाले नियमित निगरानी र मूल्यांकन गर्नुपर्नेमा जोड दिएका छन्।
संयुक्त दृष्टिपत्रले विगतका सम्झौता तथा प्रतिबद्धतालाई एकीकृत गर्दै नयाँ सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने र नेपाल–भारत सम्बन्धलाई नतिजामुखी बनाउने अपेक्षा गरिएको छ।




Comment