देशभर जेल ब्रेक, १२ हजार ८२५ कैदी फरार

१ हजार ४५५ पक्राउ, फर्किएनन् रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेन-जी आन्दोलन चर्किएसँगै देशभरका कारागारहरूबाट बिहीबारसम्म १२ हजार ८५२ जना कैदी फरार भएका छन्। मंगलबार नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाहिरिएपछि देशव्यापी जेल तोडफोड र कैदी भाग्ने क्रम सुरु भएको हो।

बिहीबार बिहान रामेछाप कारागारका कैदी भाग्ने प्रयासमा सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनालाई धुलिखेल अस्पताल पठाइएको र अन्य ६ जनाको थप उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।

प्रहरी प्रधान कार्यालयका अनुसार भागेकामध्ये १ हजार ४५५ जना पक्राउ परिसकेका छन्। प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, ५७३ जना थुनुवा प्रहरी कार्यालयबाट पनि भागेका छन्, तीमध्ये धेरै काठमाडौंका विभिन्न वृत्तहरूबाट हुन्। काठमाडौंको बानेश्वर, थानकोट र महाराजगन्ज प्रहरी वृत्त आगजनीबाट ध्वस्त भएका छन्।

कैलाली, सिरहा, कञ्चनपुर, सप्तरी, रौतहट, भीमफेदी, सिन्धुली र महोत्तरीसहितका विभिन्न कारागारबाट कैदी भागेका छन्। कतिपय कैदी स्थानीयले प्रहरीलाई बुझाएका छन् भने केही आफैं फर्किएका छन्।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले कारागार जलेका कारण विवरण संकलनमा ढिलाइ भएको बताए। नख्खु कारागारबाट जनकपुर बम काण्डका आरोपी सञ्जय शाह पक्राउ परे पनि, सुन्धारा कारागारबाट ३३ किलो सुन तस्करी र सनम शाक्या हत्या प्रकरणका अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ फरार रहेको पुष्टि भएको छ।

सुरक्षामा नेपाली सेना खटिएपछि कैदी भाग्ने क्रम केही नियन्त्रणमा आएको छ। प्रहरीले भागेकाहरूलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीका अनुसार, कैदी फरार अवस्थामै अपराधमा संलग्न हुने जोखिम भएकाले स्थानीयहरूले देख्नेबित्तिकै प्रहरीलाई बुझाउनुपर्ने अवस्था आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।