इम्बोस्ड प्लेटबारे विभागले भन्यो: असोज १ भित्रै जडान गरिहाल्नु पर्दैन, अनुकूलतामा जडान गर्नू

जनगुनासोपछि यातायात व्यवस्था विभागको पछिल्लो निर्णय : तत्काल कारबाही नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भनिएको निर्णयमा यातायात व्यवस्था विभाग पछि हटेको छ। जनगुनासो र चौतर्फी आलोचना बढेपछि विभागले तत्काल कारबाही नगर्ने स्पष्ट पार्दै सवारीधनीहरूलाई आफ्नो अनुकूल समयमा नम्बर प्लेट जडान गर्न आग्रह गरेको हो।

यसअघि भदौ ३ गते जारी सूचनामार्फत विभागले असोज १ गतेदेखि नयाँ दर्ता, नामसारी र नवीकरण हुने सवारीमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको थियो। तर, नागरिक स्तरबाट भएको चासो, गुनासो र दबाबलाई मध्यनजर गर्दै विभागले नरम नीति लिएको छ।

‘हामीले तत्काल कारबाही गर्ने भनेका होइनौं, यो प्रणालीमा क्रमशः जानुपर्छ,’ विभागको भनाइ छ, ‘सवारीधनीले आफूलाई अनुकूल भएको समयमा जडान गर्दै गए हुन्छ।’

यद्यपि, विभागले इम्बोस्ड प्लेट प्रणालीको आवश्यकता र महत्वमा भने कुनै सम्झौता नगर्ने अडान दोहोर्‍याएको छ। विभागका अनुसार यो प्रणाली राष्ट्रिय सुरक्षा, सवारी चोरी नियन्त्रण, राजस्व छली रोकथाम तथा यातायात क्षेत्रको डिजिटल रूपान्तरणका लागि अत्यावश्यक छ।

‘डिजिटल नेपालको अवधारणाअनुसार यो प्रणाली अपरिहार्य छ,’ विभागले स्पष्ट पारेको छ, ‘तर नागरिकलाई जबरजस्ती नगरिनेछ।’

साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको बैठकले असोज १ देखि अनिवार्य गर्ने निर्णय गरेको थियो। तर आवश्यक पूर्वाधारको अभाव, वितरण प्रणालीको जटिलता र जनचेतनाको कमीका कारण निर्णय कार्यान्वयनमा हतार गरिएको भन्दै आलोचना भएपछि विभागले नीति पुनरावलोकन गरेको हो।

विभागले सवारीधनीहरूलाई नजिकको यातायात कार्यालय वा अधिकृत इम्बोस्ड प्लेट जडान केन्द्रमार्फत सुविधाजनक समयमा सेवा लिन अनुरोध गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।