प्रधानमन्त्री बालेनको भारत भ्रमणका उपलब्धि प्रभावकारी कार्यान्वयन गर्न महासंघको जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट प्राप्त उपलब्धिलाई कूटनीतिक सहमति र घोषणामा मात्र सीमित नराखी आर्थिक विकास तथा व्यावसायिक साझेदारीमा रूपान्तरण गर्न दुवै देशका सरकारसँग आग्रह गरेको छ।

महासंघले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक तथा कूटनीतिक दायराभन्दा माथि उठाउँदै आर्थिक विकास र बहुआयामिक साझेदारीमा विस्तार गर्नुपर्नेमा जोड दिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा संयुक्त पहलले नेपालको आर्थिक विकास र समृद्धिका लागि नयाँ सम्भावना खोलेको महासंघको ठहर छ। भ्रमणका उपलब्धिबाट आम नागरिक तथा निजी क्षेत्रले प्रत्यक्ष लाभ प्राप्त गर्ने वातावरण बनाउनुपर्ने महासंघले जनाएको छ।

सात प्राथमिकतामा निजी क्षेत्रको जोड

भ्रमण दलमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागी भएका महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ दिल्लीमा आयोजित ‘नेपाल–भारत बिजनेस राउण्ड टेबल’ कार्यक्रममा सम्बोधन गर्दै दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप सन्तुलित र व्यावसायिक बनाउनुपर्ने बताएका थिए।

उनले व्यापार, पारवहन, पूर्वाधार विकास तथा सञ्जाल विस्तार, ऊर्जा, प्रविधि र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्न सातवटा प्राथमिकता अघि सारेका थिए।

श्रेष्ठले नेपाली उद्योगी तथा व्यवसायीले भारतमा भोग्दै आएका गैरभन्सार अवरोध समाधानका लागि दुवै देशका निजी क्षेत्रले संयुक्त पहल गर्नुपर्नेमा जोड दिए।

‘भूगोलले हामीलाई छिमेकी बनायो र इतिहासले हामीलाई परिवार बनायो। अब व्यवसायले हामीलाई प्रगतिको साझेदार बनाउनुपर्छ। संवादबाट सम्झौतामा, सम्भावनाबाट परियोजनामा र असल छिमेकीबाट महान् साझेदारतर्फ अघि बढौँ। नेपाल व्यावसायिक अवसरहरूका लागि खुला छ,’ उनले भनेका थिए।

कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी, संयुक्त उद्यम र व्यावसायिक सहकार्यका अवसर उपयोग गर्दै साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन आह्वान गरेका थिए।

भारतीय पक्षले पनि देखायो चासो

कार्यक्रममा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले महासंघले उठाएका जुट, स्टिल, भारतीय मानक ब्युरो (बीआईएस) र यूपीआई भुक्तानीसम्बन्धी विषयमा परिणाममुखी काम गर्नुपर्ने धारणा राखेका थिए।

भारत विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक रहेको उल्लेख गर्दै उनले दुवै देशले सहकार्यलाई कार्यान्वयन तहसम्म पुर्‍याएर आर्थिक गतिविधि बढाउनुपर्ने बताएका थिए। त्यस्तै, भारतीय उद्योग परिसंघ (सीआईआई) अन्तर्राष्ट्रिय परिषद्का सहअध्यक्ष विक्रमजीत सिंह साहनेले नेपाल–भारतबीचको आर्थिक तथा व्यापारिक गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

लगानीको वातावरण सुधार्न महासंघको सुझाव

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी ‘विकसित भारत–समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दूरदृष्टि दस्तावेजले दुई देशबीचको आर्थिक तथा विकास साझेदारीलाई परिणाममुखी बनाउन सहयोग पुर्‍याउने विश्वास महासंघले व्यक्त गरेको छ।

नेपालमा भारतीय लगानी अपेक्षाअनुसार विस्तार हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै महासंघले लगानीका अवसर पहिचान, नीतिगत स्थिरता, लगानी सुरक्षाको प्रत्याभूति र लगानीको प्रतिफल फिर्ता लैजान सहज व्यवस्था सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

त्यस्तै, जुट तथा स्टिल उद्योगसँग सम्बन्धित समस्या, गुणस्तर प्रमाणीकरण र बीआईएससम्बन्धी अवरोध समाधान गर्नुपर्ने महासंघको भनाइ छ। दुवै देशका गुणस्तर प्रमाणीकरण निकायबीच पारस्परिक मान्यता कायम गर्ने तथा सीमा नाकामा सहज र व्यवस्थित जाँचपासको व्यवस्था गर्न पनि निरन्तर संवाद आवश्यक रहेको महासंघले जनाएको छ।

बाढी प्रभावित क्षेत्रको पुनरुत्थानमा सहकार्य

यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) बीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा स्थानीय आर्थिक गतिविधि पुनरुत्थानमा सहकार्य गर्ने समझदारी भएको छ।

समझदारीअनुसार दुवै संस्थाले बाढी प्रभावित समुदायको स्वास्थ्य, सरसफाइ, जीविकोपार्जन र स्थानीय आर्थिक पुनरुत्थानसँग सम्बन्धित कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्नेछन्।

महासंघले विज्ञप्तिमार्फत उक्त सहकार्यले बाढी प्रभावित समुदायको पुनर्स्थापना तथा स्थानीय अर्थतन्त्रलाई पुनः गतिशील बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।