काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि चार दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि म्याद थपको माग गर्दै शुक्रबार अदालतमा पेस गरेपछि अदालतले ४ दिनको समय दिएको हो ।
सीआईबीको टोलीले अर्याललाई बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो । ब्युरोले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनलाई ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा नियन्त्रणमा लिइएको हो ।
अर्यालमाथि नेपाल सरकार र मलेसिया सरकारबिच भएको सम्झौता विपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ । उक्त रकम पठाउने निर्णयमा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा समेत उनको भूमिका रहेको प्रहरीको दाबी छ ।
सीआईबीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ ।
विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको उक्त ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा प्रहरीले गत मङ्सिर २ गते नै काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । सोही कसुरमा थप अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।




Comment