काठमाडौँ । भेन्चर हायर पर्चेज लिमिटेडले आमनागरिकलाई लक्षित गर्दै प्रथम सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीले यस प्रस्तावलाई स्वीकृति दिन आगामी भदौ २७ गते साधारणसभा आह्वान गरेको छ। सभा दिउँसो ३ बजे, काठमाडौंको पानीपोखरीस्थित दर्ता कार्यालयमा बस्नेछ।
सभामा आईपीओ निष्काशनसम्बन्धी प्रस्तावसँगै १० प्रतिशत नगद लाभांश वितरण गर्ने एजेन्डा पनि पेस गरिनेछ। कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्दै आगामी दिनमा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने योजनालाई मूर्तरूप दिन लागेको हो।
साधारणसभाले कम्पनीको पुँजी संरचना परिवर्तन गरी सो अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावमा छलफल गर्दै, सो कार्यका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने निर्णय गर्नेछ।
त्यसैगरी, सभामा कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय विवरणमाथि छलफल गरिनेछ भने चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि प्रस्तुत गरिने कम्पनीले जानकारी दिएको छ।
भेन्चर हायर पर्चेजले आईपीओ निष्काशनको तयारीसँगै संस्थागत पारदर्शिता र वित्तीय सुदृढीकरणतर्फ अग्रसर हुने संकेत गरेको छ। अबको चरणमा नेपाल धितोपत्र बोर्ड (सेबोन) र अन्य नियामक निकायबाट स्वीकृति लिएर सार्वजनिक निष्काशन प्रक्रिया अघि बढाइनेछ।
Comment