काठमाडौं । नेपालको प्रतिष्ठित अटोमोबाइल मेला “नाडा अटो शो २०८२” को उद्घाटन यस वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ। आयोजक संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव चौधरीले सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।
अध्यक्ष चौधरीका अनुसार, नाडा अटो शो यसपालि झनै भव्य र प्रविधिमैत्री हुने अपेक्षा गरिएको छ। मेला भदौ ५ गतेदेखि १० गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा आयोजना हुने छ। उनले भने, “देशको आर्थिक गतिविधिमा योगदान पुर्याउने अटोमोबाइल क्षेत्रको विकासका लागि यो मेला एक महत्वपूर्ण प्लेटफर्म हो।”
मेलामा विभिन्न गाडी ब्रान्डका नयाँ मोडेल, विद्युतीय सवारी साधन, स्पेयर पार्ट्स, लुब्रिकेन्ट, फाइनान्स र इन्स्योरेन्स कम्पनीहरू सहभागी हुनेछन्। प्रदर्शनीमा ३०० भन्दा बढी स्टल रहनेछन् भने ५०,००० भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।
चौधरीले मेलाबाट सवारी साधनको प्रवर्द्धन मात्र नभइ विद्युतीय सवारीका बारेमा जनचेतना फैलाउने लक्ष्य राखिएको बताए। साथै, सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिनुपर्ने उनको जोड थियो।
Comment