नेपाल रिको हकप्रदमा लगानी गर्न अर्थ मन्त्रालयलाई मन्त्रिपरिषदले दियो सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयबाट पेस भएको सरकारको थप हकप्रद सेयर लगानीसम्बन्धी प्रस्तावलाई स्वीकृति दिएको हो ।

नेपाल पुनर्बिमा कम्पनीको हालको चुक्तापुँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । नेपाल बिमा प्राधिकरणको निर्देशनअनुसार पुनर्बिमा कम्पनीको न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । सोहीअनुसार निर्धारित चुक्तापुँजी पुर्‍याउन कम्पनीले हकप्रद सेयर जारी गर्नुपर्ने भएको हो ।

नेपाल पुनर्बिमा कम्पनीमा सरकारको ४४.०४ प्रतिशत सेयर स्वामित्व रहेको छ । यसअनुसार कम्पनीको चुक्तापुँजी वृद्धि प्रक्रियामा सरकारका तर्फबाट करिब साढे ३ अर्ब रुपैयाँ थप पुँजी लगानी गर्नुपर्ने देखिन्छ ।

यसअघि सरकारको थप लगानी सुनिश्चित हुन नसक्दा कम्पनीको चुक्तापुँजी वृद्धि प्रक्रिया अघि बढ्न सकेको थिएन । पुँजी वृद्धि अन्योलमा रहँदा धितोपत्रको दोस्रो बजारमा समेत कम्पनीको सेयर मूल्यमा असामान्य उतारचढाव तथा चलखेल भएको थियो ।

मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै नेपाल पुनर्बिमा कम्पनीको पुँजी वृद्धि प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।