काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूलाई जथाभावी वाईफाई हटस्पट सञ्चालन नगर्न कडाइ गरेको छ । प्राधिकरणले हाल सञ्चालन भइरहेको फ्रिवाईफाई हटस्पट सेवाहरू विनियमावली, २०७५ विपरीत रहेको भन्दै त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो।
प्राधिकरणले हालै जारी गरेको सार्वजनिक सूचनामा मोबाइल सेवा प्रदायकहरूले मात्र वाईफाई प्रविधिको माध्यमबाट ‘सिमलेस कनेक्टिभिटी’, ‘रोमिङ’ वा ‘मोबिलिटी’ सेवा दिन सक्ने प्रावधान रहेको स्पष्ट गरेको छ । अन्य इन्टरनेट सेवा प्रदायकहरू (आईएसपी)ले भने वाईफाई हटस्पट सेवा तोकिएको क्षेत्र, समय र मात्राभित्र एकपटकको लगइन मार्फत मात्र सञ्चालन गर्न पाउने व्यवस्था छ।
प्राधिकरणको भनाइअनुसार, वाईफाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ को विनियम २ (ङ) र २ (च) तथा विनियम ५ (१) ले तोकेको सन्दर्भबाहिर सेवा प्रवाह गरे कानूनी कारबाही हुनेछ। विशेषतः वल्र्डलिंक जस्ता सेवा प्रदायकहरूले व्यापक रूपमा जताजतै निःशुल्क वाईफाई हटस्पट सञ्चालन गर्दै आइरहेका छन्, जसमा एकपटक लगइन गरेपछि सेवा स्वतः दोहोरिएर असिमित समयसम्म चल्ने सुविधा दिइएको छ।
सञ्चार मन्त्रालयको निर्देशनपछि प्राधिकरणले वल्र्डलिंकसहितका सबै आईएसपीहरूलाई तोकिएको कानुनी सीमाभन्दा बाहिर सेवा नदिन औपचारिक रूपमा चेतावनी दिएको छ। यस निर्णयपछि वल्र्डलिंकले देशभर सञ्चालन गरिरहेका १४ हजारभन्दा बढी ‘वाईफाई एक्सप्रेस’ हटस्पटहरू अब निर्धारित शर्तअनुसार मात्रै सञ्चालन गर्नुपर्नेछ।
त्यसैगरी, प्राधिकरणले वाईफाई हटस्पट सेवा सञ्चालन गर्दा ‘रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति, २०८०’ अनुसार पावर लिमिट, ब्याकहल/ब्याकबोन प्रतिबन्ध लगायतका प्रावधानहरू कडाइका साथ पालना गर्नुपर्ने स्पष्ट पारेको छ। साथै, सेवा प्रदायकले प्रयोग गर्ने उपकरणहरू प्राधिकरणबाट टाइप–एप्रुभल प्राप्त भएका हुनुपर्ने पनि उल्लेख गरिएको छ।
नेपालमा सबैभन्दा ठूलो वाईफाई हटस्पट सञ्जाल सञ्चालन गरिरहेको वल्र्डलिंकले अबदेखि कानुनी मापदण्ड पालना नगरेमा कारबाही भोग्नुपर्नेछ। प्राधिकरणले यस कदममार्फत दूरसञ्चार क्षेत्रको समुचित व्यवस्थापन र उपभोक्ताको हकहित संरक्षण गर्ने उद्देश्य लिएको स्पष्ट पारेको छ।
Comment