रसुवा बाढीको ८२ करोड १३ लाख रुपैयाँ बराबरको बिमा दाबी भुक्तानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेका बिमितलाई बिमा कम्पनीहरूले ८२ करोड १३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् ।

नेपाल बिमा प्राधिकरणको असोज १० गतेसम्मको तथ्यांकअनुसार उक्त बाढीबाट भएको क्षतिबापत कुल २० अर्ब ९० करोड रुपैयाँ बराबरको बिमा दाबी परेको थियो । त्यसमध्ये बिमा कम्पनीहरूले अग्रिम भुक्तानीसमेत गरी ८२ करोड १३ लाख रुपैयाँ भुक्तानी गरेका हुन् ।

प्राधिकरणका अनुसार हालसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जीआईसी, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको), सिद्धार्थ प्रिमियर, नेको, आईजीआई प्रुडेन्सियल, युनाइटेड अजोड, दि ओरिएन्टल, एनएलजी र ट्रस्ट माइक्रो इन्स्योरेन्सले दाबी भुक्तानी गरेका छन् ।

दाबी भुक्तानी गर्ने कम्पनीमध्ये सबैभन्दा बढी रकम सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले भुक्तानी गरेको छ । कम्पनीले हालसम्म २६ करोड ६३ लाख रुपैयाँ भुक्तानी गरेको छ । सलिकोमा १ अर्ब ७५ करोड ९१ लाख रुपैयाँभन्दा बढीको बिमा दाबी परेको थियो ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २३ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ । उक्त कम्पनीमा ६ अर्ब ६१ करोड ५५ लाख रुपैयाँभन्दा बढीको दाबी परेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, शिखर इन्स्योरेन्सले २ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ बराबरको दाबीमध्ये २१ करोड ४७ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ ।

अन्य कम्पनीमध्ये दि ओरिएन्टल इन्स्योरेन्सले ४ करोड ३६ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २ करोड ५४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ करोड ६३ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले ७६ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

त्यसैगरी, एनएलजी इन्स्योरेन्सले ९ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

भोटेकोशी बाढीबाट भएको क्षतिबापत २० अर्ब ९० करोड रुपैयाँको दाबी परेको तुलनामा हालसम्म भुक्तानी भएको रकम निकै कम देखिएको छ । प्राधिकरणको असोज १० गतेसम्मको तथ्यांकले बाढीबाट प्रभावित बिमितले अझै ठूलो रकम बराबरको दाबी भुक्तानी पाउन बाँकी रहेको देखाउँछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।