काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार र सुधार गर्न लक्षित सात सूत्रीय रणनीति सार्वजनिक गरेको छ।
सेबोनले सार्वजनिक गरेको नीति तथा कार्यक्रमअनुसार सबैभन्दा पहिले कानूनी ढाँचा सुदृढ पारिनेछ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी कानूनी व्यवस्था परिमार्जन गरी प्रणालीलाई थप बलियो बनाउने तयारी गरिएको छ।
बोर्ड र यससँग सम्बन्धित सेवा प्रदायक संस्थाहरूको संरचनात्मक सुधार र क्षमतावृद्धि गर्दै संस्थागत ढाँचा मजबुत पार्ने योजना पनि बोर्डले अघि सारेको छ।
यसबाहेक, बजारमा हुने अनियमितता र दुरुपयोग रोक्न सशक्त नियमन प्रणाली लागू गरिनेछ। यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइने सेबोनले स्पष्ट पारेको छ।
धितोपत्र बजारमा विविधता थप्न बोर्डले नयाँ वित्तीय उपकरण विकास गर्ने, क्षेत्रगत विस्तार ल्याउने र समावेशी बनाउने योजना ल्याएको छ।
प्रणालीगत जोखिम न्यूनीकरण र लगानीकर्ता संरक्षणमा विशेष जोड दिँदै सेबोनले जनविश्वास बढाउने प्रयास गरिने जनाएको छ। सूचना प्रविधिको प्रभावकारी उपयोग र पूर्वाधारमा लगानी वृद्धि गरी बजार सञ्चालन प्रणालीलाई थप आधुनिक बनाइनेछ।
त्यस्तै, पुँजी बजार शिक्षा अभियानलाई निरन्तरता दिँदै लगानीकर्ताको साक्षरता र सचेतना अभिवृद्धिमा ध्यान दिइनेछ। बजारसम्बन्धी अनुसन्धान र अध्ययनलाई प्राथमिकता दिँदै नीति निर्माणमा वैज्ञानिक आधार ल्याइने पनि सेबोनको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
सेबोनको यो रणनीतिले आगामी दिनमा नेपाली पूँजी बजारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।
Comment