व्यवसायिक लक्ष्य निर्धारणमा सबै प्रकारका बीमाशुल्क अनिवार्य समावेश गर्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै जीवन बीमा तथा लघुजीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि व्यवसायिक लक्ष्य निर्धारण गर्दा पहिलो बीमाशुल्कसँगै नवीकरण बीमाशुल्क र म्यादी जीवन बीमाशुल्कलाई अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको छ।

प्राधिकरणले सोमबार जारी गरेको परिपत्रमा कम्पनीका मातहत कर्मचारी, शाखा, उपशाखा, प्रादेशिक कार्यालय तथा विभागहरूले मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा बनाउने लक्ष्य निर्धारणमा यी तीनै प्रकारका बीमाशुल्कलाई अनिवार्यरूपमा समेट्नुपर्ने उल्लेख गरिएको छ।

यो निर्देशन सावधिक वा एकल बीमाशुल्कमा मात्र केन्द्रित रहेर लक्ष्य निर्धारण गर्दा देखिएका समस्यालाई समाधान गर्ने उद्देश्यले ल्याइएको हो। प्राधिकरणका अनुसार धेरै कम्पनीहरूले केवल ठूलो बीमाशुल्क संकलनमा ध्यान केन्द्रित गर्दा बीमा सेवा न्यून आय वर्गसम्म नपुगेको, बीमालेख समयमै समर्पण वा व्यतित हुने समस्या देखिएको छ।

बीमा सेवा गुणस्तरीय र भरपर्दो बनाउन, सबै वर्गका नागरिकसम्म बीमाको पहुँच पुर्‍याउन र दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न यो नीति प्रभावकारी हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ।

प्राधिकरणको यो निर्देशनले बीमा कम्पनीहरूलाई संख्यात्मक लक्ष्यभन्दा पनि गुणस्तरीय सेवातर्फ उन्मुख गराउने र बीमा व्यवसायलाई दीगो एवं समावेशी बनाउने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।