काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई सूचना प्रविधिको प्रयोगमा गति ल्याउन र तथ्याङ्क व्यवस्थापनलाई थप सुदृढ बनाउन निर्देशन दिएको छ । प्राधिकरणद्वारा आज ललितपुरमा आयोजित ‘बीमा क्षेत्रमा सूचना प्रविधिको प्रयोग तथा तथ्याङ्क व्यवस्थापन’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष शरद ओझाले बीमा व्यवसायको पारदर्शिता, दिगोपन र निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग आवश्यक भएको बताए ।
अध्यक्ष ओझाले कम्पनीहरूबाट प्राधिकरणमा बुझाइने, सार्वजनिक गरिने र अन्ततः प्रकाशित हुने तथ्याङ्कहरूमा कुनै प्रकारको विसङ्गति नरहोस् भन्ने स्पष्ट निर्देशन दिए । उनले लागत बढेपनि सूचना प्रविधिमा लगानी नगरी बीमा उद्योग सशक्त बन्न नसक्ने उल्लेख गर्दै ‘कस्ता तथ्याङ्क दीर्घकालमा आवश्यक पर्छन्, कस्ता तत्कालका लागि चाहिन्छ, स्क्रिनिङ गरेर तदनुसार डेटा भण्डारण गर्नुपर्छ’ भने ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा कम्पनी र नियामक निकायबीचको समन्वयलाई प्रविधिमैत्री बनाउँदै डेटा व्यवस्थापनलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने उद्देश्य रहेको बताए । निर्देशक पूजन ढुङ्गेल अधिकारीले कम्पनीहरूले सूचना प्रविधि शाखामा जिम्मेवार सम्पर्क व्यक्ति तोक्न जरुरी रहेको औँल्याए ।
कार्यक्रममा बीमा कम्पनी, लघुबीमा र पुनर्बीमा कम्पनीका सूचना प्रविधि तथा तथ्याङ्क शाखाका कर्मचारीहरू सहभागी थिए । सूचना प्रविधि तथा तथ्याङ्क विषयमा क्रमशः उपनिर्देशक रविन्द्र श्रेष्ठ र तथ्याङ्कशास्त्री वसन्त बोहराले प्रस्तुति दिएका थिए । कार्यक्रमको सञ्चालन सहायक निर्देशक सुन्दर प्रसाद शर्माले गरेका थिए ।
Comment