वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकद्वारा ९ स्थानमा रक्तदान, ७१३ युनिट रगत संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न नौ स्थानमा बृहत् रक्तदान कार्यक्रमसहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सम्पन्न गरेको छ ।

हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान तथा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम आयोजना गर्दै आएको बैंकले यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको हो । बैंकले ७ मङ्सिरमा देशका विभिन्न नौ स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट कुल ७१३ युनिट रगत संकलन भएको जनाएको छ ।

बैंकका अनुसार केन्द्रीय कार्यालय रहेको काठमाडौंको बालुवाटारसहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

संकलित रगतले रगतको आवश्यकता परेका बिरामीहरूको उपचारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यसै अवसरमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने नौवटा शाखा कार्यालयलाई पुरस्कृत गरेको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाका प्रमुखहरूलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, २०औँ वार्षिकोत्सवकै अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बैंकले मङ्सिर ५ गते ‘गरिमा रोड रेस २०८३’ को तेस्रो संस्करण पनि सम्पन्न गरेको थियो ।

काठमाडौंमा आयोजित उक्त दौड प्रतियोगितामा एक हजार चार सयभन्दा बढी धावक सहभागी भएका थिए । स्वस्थ जीवनशैली, शारीरिक सक्रियता तथा खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले खेलकुदमार्फत सकारात्मक सामाजिक सन्देश प्रवाह गरेको बैंकको विश्वास छ ।

स्थापनाको दुई दशक पूरा गरेको अवसरमा बैंकले निरन्तर विश्वास, साथ, सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण सेवाग्राही, सेयरधनी, नियामक निकाय, सञ्चार जगत्, कर्मचारी, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।