ललितपुर । बागमती प्रदेशका पूर्वमन्त्री र प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले कानूनी राज्यमा कसैले पनि “कानून थाहा छैन” भनेर अनदेखा गर्न नमिल्ने बताएका छन्।
ललितपुर उद्योग वाणिज्य संघको पोलिसी एण्ड एडभोकेसी समितिले शुक्रबार आयोजना गरेको उद्योग व्यवसायीका लागि कानुनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उद्योग व्यवसाय सञ्चालनका क्रममा आउने झञ्झट र जरिवानाबाट बच्न सबैले कानुनी ज्ञान राख्नुपर्नेमा जोड दिए।
चित्रकारले भने, “व्यवसायमा लाग्नेले उद्योगसँग सम्बन्धित कानूनको जानकारी अनिवार्य रूपमा राख्नैपर्छ। संविधान कानूनको मूल स्रोत हो, त्यसभन्दा माथि केही हुँदैन। ऐन, नियम, कार्यविधि र अध्यादेश पनि कानूनका अंग हुन्। संसदले चुनेर पठाएका जनप्रतिनिधिले कानून बनाउँछन्, कतिपय कानून सरकारले पनि बनाउँछ।”
उनका अनुसार कानून प्रभावकारी रूपमा कार्यान्वयन भएमा मात्र राज्य बलियो हुन्छ, त्यसैले राज्यले यसको कार्यान्वयनमा ध्यान दिनुपर्छ। उनले भने, “कर्मचारीले संसद र सरकारले बनाएका कानून लागू गर्न भूमिका खेल्नुपर्छ। सरकार केवल मन्त्री होइन, राज्यका सम्पूर्ण संयन्त्र मिलेर सरकार हो। राजनीतिक नेतृत्वले मार्गदर्शन गर्छ, अरूले कार्यान्वयन सजिलो बनाउँछन्। तर राजनीतिकरण बढी हुँदा कानून कार्यान्वयनमा समस्या देखिन्छ। यो हाम्रो दुर्भाग्य हो।”
उनी भन्छन्, “राजनीतिक नेतृत्व परिवर्तन हुँदा अस्थिरता हावी हुन्छ, चन्दा आतंक र श्रमिक आन्दोलनले उद्योग व्यवसायलाई नकारात्मक असर पारेका छन्।”
उनले व्यवसाय दर्ता तथा सञ्चालन सम्बन्धी ऐन, आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन, भन्सार ऐन जस्ता महत्त्वपूर्ण कानूनको पालना गर्न व्यवसायीले ध्यान दिनुपर्ने बताए। कानूनी सल्लाहकारको सहयोग लिएर काम गर्दा ठूलो व्यवसायमा सहजता हुने उनको भनाइ थियो।
चित्रकारले भने, “एउटै कानूनभित्र पनि धेरै द्विविधायुक्त व्यवस्था हुन्छ। राजपत्रमा प्रकाशित भएपछि त्यो कानून कार्यान्वयन हुन्छ। मलाई थाहा थिएन भनेर उन्मुक्ति पाइँदैन। विकासको मूल स्रोत भनेकै आयस्रोत हो, जसको वृद्धिका लागि उद्यमशीलता आवश्यक छ। उद्योग वाणिज्य संघ केवल आफ्ना सदस्यको हितमा मात्रै होइन, सम्पूर्ण व्यापार क्षेत्रको नेतृत्व गर्न सक्नुपर्छ।”
उनका अनुसार उद्योग वाणिज्य संघजत्तिकै विश्वासिलो संस्था अरू थोरै मात्र छन्। त्यसैले संघले कानूनी साक्षरता र उद्यमशीलता विकास गर्दै उद्योग क्षेत्रको नेतृत्व लिनुपर्छ।
कार्यक्रममा प्रेमलाल महर्जनले तीन तहको सरकारमार्फत बजार अनुगमन हुने भएकाले व्यवसायीले ऐन, नियमको पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने बताए। यस्तो कार्यक्रमबाट कानूनी व्यवस्थामा भएको परिवर्तनबारे जानकारी पाइने र अन्जानमा हुने गल्ती न्यून हुने उनले बताए।
उनले भने, “आर्थिक ऐनले के व्यवस्था गरेको छ भन्ने थाहा पाउन आवश्यक छ। परिवर्तन भएको कुरा बुझ्न सकेपछि मात्रै सही व्यवसाय सञ्चालन सम्भव हुन्छ।”
विश्वराज बज्राचार्यले संघ, प्रदेश र स्थानीय सरकारले बनाएका कानूनबारे जानकारी दिएर उद्योग व्यवसायलाई वैधानिक रूपमा सञ्चालन गर्न सहयोग पुगोस् भनेर कार्यक्रम गरिएको बताए।
संघको पोलिसी एण्ड एडभोकेसी समितिका अनिल महर्जनले यस्ता कानूनी साक्षरताले व्यवसाय सञ्चालनलाई सहज बनाउने र कानूनी ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा अधिवक्ता बालकृष्ण महर्जनले संघका सदस्यलाई कानूनी साक्षरता सम्बन्धी अभिमुखीकरण गरे।
Comment