काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारले मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देसार, शाखा अधिकृत (विशेष) नवराज बस्नेत, नायब सुब्बाहरू रामकृष्ण खत्री, केदारनाथ भट्टराई, विनोद कोइराला, विष्णुप्रसाद होमागाईं, रामकाजी श्रेष्ठ, हरिशरण श्रेष्ठ, रामप्रसाद सत्याल र कृष्णप्रसाद सापकोटाविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यही कार्यलयका खरिदारहरू बद्रिप्रसाद हुमागाईं, पुष्पकुमार पौडेल र रोशकाजी जस्पाउलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ । त्यस्तै, गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख बैकुण्ठ प्रसाद रेग्मी, फाँटवाला धव प्रसाद होमागाईं र कार्यालय सहायक राजकुमार सिग्देलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । भारतको पतञ्जली योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालय, अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो। कम्पनीले हदबन्दीभित्रको जग्गाले नपुग्ने भएपछि सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो।
Comment