काठमाडौं । नवनियुक्त नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राजीनामा दिइसकेका डा. गुणाकर भट्टलाई फकाएर पुनः बैंकमा फर्काएका छन्। गभर्नर पौडेलको आग्रहमा डा. भट्टले आफ्नो राजीनामा फिर्ता लिँदै अब गभर्नरको कार्यालयको नेतृत्व सम्हाल्ने भएका छन्।
राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार डा. भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नरको कार्यालयमा सरुवा गरिएको हो। कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ अवकाश भएपछि खाली भएको उक्त पदमा डा. भट्टलाई जिम्मेवारी दिइएको हो।
डा. भट्ट गभर्नरको प्रतिस्पर्धामा रहेका प्रमुख उम्मेदवारमध्ये एक थिए। गभर्नर बन्ने लक्ष्यसहित उनले गत वैशाखमा कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएका थिए। तर त्यतिबेला कामु गभर्नर एवं अर्की उम्मेदवार डेपुटी गभर्नर नीलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरेपछि उनी दौडबाट बाहिरिएका थिए।
गभर्नर नबन्ने निश्चित भएपछि डा. भट्ट अमेरिका गएका थिए। तर गभर्नरमा डा. पौडेल नियुक्त भएपछि उनले व्यक्तिगत पहलमा डा. भट्टलाई राष्ट्र बैंक फर्काएका हुन्। अब डा. भट्ट गभर्नर कार्यालयमा प्रमुखको हैसियतले काम गर्नेछन्।
Comment