शाकाहारी संघले तीनदिने अहिंसा महोत्सव आयोजना गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । करुणा, अहिंसा र पशु अधिकारको सन्देश फैलाउने उद्देश्यले नेपाल शाकाहारी संघले भव्य रूपमा ‘अहिंसा महोत्सव नेपाल’ आयोजना गर्ने भएको छ। महोत्सव आगामी भदौ १२ देखि १४ गतेसम्म काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुनेछ।

‘करुणाले जोड्छ’ भन्ने भावनात्मक नारासहित सञ्चालन हुने यो तीनदिने महोत्सवमा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको संघका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो। महोत्सवले मानव स्वास्थ्य, पशुपंक्षीको जीवन र वातावरणीय सन्तुलनका लागि पूर्ण शाकाहारी जीवनशैलीलाई आत्मसात् गर्न प्रेरणा दिने लक्ष्य राखेको छ।

महोत्सवमा शाकाहारी परिकारको प्रदर्शनी, योग सत्र, साङ्गीतिक प्रस्तुति, पशु अधिकार र दिगो जीवनशैलीसम्बन्धी अन्तरक्रिया, साथै देश-विदेशका अभियन्तासँग प्रत्यक्ष संवाद र अनुभव आदानप्रदान जस्ता आकर्षक कार्यक्रमहरू समावेश हुनेछन्।

संघका अनुसार, महोत्सवमा ३० हजारभन्दा बढी सहभागी, ६० भन्दा बढी शाकाहारी उत्पादन कक्ष, ४० जना वक्ता, र २० भन्दा बढी संघ-संस्थाहरूको सक्रिय सहभागिता रहनेछ।

संघले यसअघि २०७४ सालमा काठमाडौँमा आयोजना गरेको आठौँ एसिया–प्यासिफिक भेजिटेरियन कांग्रेस (APVHC) को सफलतापछि, यो महोत्सवलाई त्यसको निरन्तरता र अझ विस्तारित प्रयासको रूपमा अघि बढाइएको हो।

शाकाहारप्रेमी, पशु अधिकारकर्मी, वातावरणविद् र जागरूक नागरिकहरूलाई यो महोत्सवले एक साझा मञ्चमा ल्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्। करुणा र सहअस्तित्वमा आधारित यो उत्सव सजगता, समर्पण र सकारात्मक परिवर्तनको सन्देश बोकेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।