राष्ट्र बैंकले ८ प्रतिशतसम्म खराब कर्जा भएको बैंकमा पनि निक्षेप राख्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेप राख्ने प्रयोजनका लागि खराब कर्जाको सीमा बढाएको छ ।

यसअघि ५ प्रतिशतभन्दा कम खराब कर्जा भएका बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्दै आएको राष्ट्र बैंकले अब ८ प्रतिशतसम्म खराब कर्जा संस्थामा निक्षेप राख्ने भएको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै अब आफूले ८ प्रतिशतसम्म खराब कर्जा भएका बैंकमा निक्षेप राखिने जानकारी गराएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा ह्वात्तै बढ्दा निक्षेप राख्नका लागि राष्ट्र बैंकलाई नै समस्या भएपछि खराब कर्जाको सीमा बढाएको हो ।

चालु आवको दोस्रो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाहरूको औसतमै खराब कर्जा पौने ५ प्रतिशत पुगेको छ । जसमा १ दर्जन बढी बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशत माथि पुगेको छ । यस्तोमा राष्ट्र बैंकलाई निक्षेप राख्नै समस्या भएपछि खराब कर्जाको सीमामा लचकता अपनाएको हो ।

नेपाल राष्ट्र बैंकले आइतबार विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दति निक्षेप राख्न बैंकहरूसँग प्रस्ताव माग गरेको छ । निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको शर्तहरूमा राष्ट्र बैंकले निष्कृय कर्जा –एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्कृय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने उल्लेख गरेको हो ।

खराब कर्जाको सीमा बढाएकोलाई जानकारहरूले भने चासोका साथ हेरेका छन् । अर्थतन्त्रमा शिथिलता कायमै रहँदा अहिले पनि ऋण असुलीमा सुधार आएको छैन । यस्तोमा आगामी दिनमा बैंकहरूको खराब कर्जा झनै बढ्ने बैंकरहरूको भनाइ छ । त्यसलाई समेत मध्येनजर गर्दै खराब कर्जाको सीमा बढाइएको हुनसक्ने आकलन गरिएको छ ।

राष्ट्र बैंकका अधिकारीहरूले भने खराब कर्जाको सीमा मुद्दती निक्षेप प्रयोजनका लागि मात्रै बढाइएको बताएका छन् । अन्यको हकमा भने खराब कर्जाको सीमा ५ प्रतिशत नै यथावत राखिएको उनीहरूको भनाइ छ ।

राष्ट्र बैंकले मुद्दतीम राख्ने ४ अर्ब ७९ लाख रुपैयाँमध्येवाणिज्य बैंकमा ३ अर्ब २० करोड ६५ लाख, विकास बैंकमा ६० करोड ११ लाख र वित्त कम्पनीमा २० करोड ३ लाख रुपैयाँ राखिने जनाएको छ ।

निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जारनिक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ ।

त्यसैगरी, निक्षेप लगानी गरिने बैंक तथा वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने र भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको बैंक तथा वित्तीय संस्थाले मात्रै आवेदन दिन पाउने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले उक्त रकम ३६६ दिन (१२ मार्च २०२५ देखि १२ मार्च २०२६ सम्म) का लागि मुद्दती निक्षेपमा राख्न लागेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।