नक्कली भ्याट बिल प्रकरणमा ५३ करोड बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजस्व चुहावट मुद्दामा ५३ करोड रुपैयाँभन्दा बढी जरिवाना र २ वर्ष कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको साविक जयनगर गाविस वडा नं. ४ (हाल गरुडा नगरपालिका वडा नं. १) घर भएका ३३ वर्षीय गुलसन श्रीवास्तव रहेका छन् ।

रामचन्द्र श्रीवास्तवका नाति तथा किशोरीलाल श्रीवास्तवका छोरा गुलसनलाई सीआईबीबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा मंसिर २ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६, नगुवाबाट पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर ज.ब.रा. द्वारा जारी विज्ञप्तिअनुसार श्रीवास्तव संग्रीला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेशनल, मयंक इन्टरप्राइजेज, शुभ लक्ष्मी इन्टरनेशनल र न्यू महादेव इन्टरनेशनल कम्पनीहरूका प्रोपाइटर हुन् । उनले ती फर्महरूमार्फत झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (मू.अ.कर) विजक जारी गरी कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुरका निर्देशक/अनुसन्धान अधिकृत प्रेम प्रसाद आचार्य समेतको प्रतिवेदन जाहेरीमा राजस्व चुहावट मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते फैसला सुनाउँदै श्रीवास्तवलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय ठहर गरेको थियो । फैसलापछि सजाय बेरुजु भई उनी फरार रहँदै आएका थिए ।

पक्राउ परेका श्रीवास्तवलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।