काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएर दलविहीन बनेकी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचनमा मेयरमा प्रतिस्पर्धा गर्ने निर्णय सार्वजनिक गरेकी हुन् ।

उनले आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन तथा रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् ।

श्रेष्ठले फेसबुकमा लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

मेयर पदमा उम्मेदवारी दिने घोषणा गरे पनि उनले कुन राजनीतिक दलबाट चुनाव लड्ने वा स्वतन्त्र उम्मेदवारी दिने भन्नेबारे भने खुलाएकी छैनन् ।

यसअघि गत वैशाख ४ गते श्रेष्ठले रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । उनी रास्वपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन् । उनले २०८० फागुन २३ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।

संसद्मा रहँदा शैक्षिक क्यालेन्डर निर्माण र कार्यान्वयनका विषयमा सक्रिय भूमिका निर्वाह गरेकी श्रेष्ठ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा समेत सक्रिय थिइन् ।

काठमाडौं महानगरपालिका–२६ की स्थायी बासिन्दा श्रेष्ठले अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) स्लोन स्कुल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी छन् ।

त्यसअघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्र तथा ह्याभरफोर्ड कलेजबाट गणित विषयमा स्नातक गरेकी थिइन् ।

श्रेष्ठको उम्मेदवारी घोषणासँगै आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धा थप चासोको विषय बनेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।