मंसिर १७ देखि भृकुटीमण्डपमा ११औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२६’ आयोजना हुने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन एवम् ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा मेला हुन लागेको हो। मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानलगायतका देशहरूको सहभागिता रहने महासंघले जनाएको छ।

मेलामा २०० भन्दा बढी स्टलमार्फत स्वदेशी तथा विदेशी वस्तु र सेवाको प्रदर्शनी गरिनेछ भने करिब एक लाख स्वदेशी तथा विदेशी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ।

मेलाबारे जानकारी दिँदै महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन यस्ता अन्तर्राष्ट्रिय मेलाको ठूलो भूमिका रहने बताए। हाल बजारमा माग कमजोर रहेको र लगानी विस्तार हुन नसकेको अवस्थामा उपलब्ध वित्तीय स्रोत, ऊर्जा र उद्यमशीलतालाई उत्पादन तथा रोजगारीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

अध्यक्ष श्रेष्ठले यो मेला नेपाली उत्पादन तथा सेवालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्त्वपूर्ण व्यावसायिक माध्यम बन्ने विश्वास व्यक्त गरे। मेलामा नेपाली उत्पादनलाई प्राथमिकता दिन ‘मेड इन नेपाल’ पेभेलियनको व्यवस्था गरिएको छ, जहाँ हस्तकला, कृषि उत्पादन, जडीबुटी, गलैँचा, पश्मिना, चिया, कफी, अलैँची तथा तयारी पोसाकलगायतका वस्तु प्रदर्शन गरिनेछ। साथै उनले गुणस्तरीय प्रदर्शनीका लागि व्यवस्थित मेला स्थल बनाइदिन सरकारसँग आग्रह समेत गरे।

यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले नियमित मेला आयोजनाबाट नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, विदेशी लगानी र प्रविधि भित्र्याउन सहयोग पुग्ने बताए। स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन मेला फलदायी हुने उनको भनाइ थियो।

मेला समिति सभापति सविन श्रेष्ठले मेलामा अन्तर्राष्ट्रिय खरिदकर्तालाई आमन्त्रण गरी नेपाली उत्पादक तथा निर्यातकर्तासँग प्रत्यक्ष व्यावसायिक भेटघाट गराउने तयारी भइरहेको जानकारी दिए। विशेषगरी नेपाली र चिनियाँ व्यवसायीबीच प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम गरिने उनले बताए। स्थानीय तथा साना उद्यमीलाई प्रोत्साहन गर्न महासंघअन्तर्गत विभिन्न प्रदेश र जिल्लामा आयोजित मेलाहरूबाट उत्कृष्ट ठहरिएका स्टललाई यस मेलामा निःशुल्क स्टल उपलब्ध गराइने व्यवस्था गरिएको जानकारी पनि उनले दिए।

मेलालाई केवल प्रदर्शनीमा मात्र सीमित नराखी व्यापारिक कारोबार, लगानी र दीर्घकालीन व्यावसायिक साझेदारी निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्न महासंघले सम्पूर्ण उद्योगी, व्यवसायी र सर्वसाधारणलाई आग्रह गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।