काठमाडौँ । कम बजेटमा निर्माण भएको भारतीय फिल्म ‘हनुमान अंश’ले बक्सअफिसमा अप्रत्याशित सफलता हासिल गर्दै विश्वभर ३६६ करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ।
फिल्मले प्रदर्शनको ४७ दिन पूरा गर्दा भारतीय बक्सअफिसबाट ३३१.७० करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने अन्तर्राष्ट्रिय बजारबाट २८०.९३ करोड भारतीय रुपैयाँ कमाएको निर्माण पक्षले जनाएको छ। करिब दुई करोड भारतीय रुपैयाँको बजेटमा बनेको यो फिल्मले आफ्नो लागतभन्दा १८३ गुणाभन्दा बढी आम्दानी गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।
न ठूलो बजेट, न चर्चित स्टारकास्ट। सुरुआती चरणमा फिल्मको प्रचारप्रसार पनि सीमित थियो। भारतमा प्रदर्शनको पहिलो दिन ‘हनुमान अंश’ले केवल १० लाख भारतीय रुपैयाँ मात्र कमाएको थियो। कमजोर सुरुआतका कारण पहिलो र दोस्रो सातापछि फिल्म हलबाट हट्ने अनुमान समेत गरिएको थियो।
तर तेस्रो सातादेखि फिल्मको व्यापारले गति लिन थाल्यो। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले सामाजिक सञ्जालमा फिल्मको चर्चा बढ्दै गयो। ‘वर्ड अफ माउथ’ प्रचारकै बलमा दर्शक हलसम्म पुग्न थालेपछि फिल्मले लगातार दर्शक तान्दै ऐतिहासिक कमाइ गर्न सफल भएको हो।
विश्वव्यापी कमाइको आधारमा ‘हनुमान अंश’ले थलापति विजय अभिनीत ‘जन नायकन’ (३२४ करोड), यश अभिनीत ‘टक्सिक’ (३४१ करोड) र रामचरण अभिनीत ‘पेड्डी’ (३४२ करोड) को लाइफटाइम कलेक्सनलाई समेत उछिनेको बताइएको छ।
विशाल चतुर्वेदीको लेखन तथा निर्देशनमा बनेको ‘हनुमान अंश’ नीम करोली बाबाको जीवन र दर्शनमा आधारित छ। फिल्ममा शोभिनव सत्याले नीम करोली बाबाको भूमिका निर्वाह गरेका छन्। साथै चन्दन के आनन्द, अनिल रस्तोगी, पूर्णिमा तिवारी, विहान शेड्गे लगायतका कलाकारको अभिनय रहेको छ।
कम बजेटमा बनेर पनि दर्शकको सकारात्मक प्रतिक्रियाका कारण असाधारण व्यावसायिक सफलता हासिल गरेको ‘हनुमान अंश’ अहिले भारतीय फिल्म उद्योगमा चर्चाको केन्द्र बनेको छ।




Comment