काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। उक्त सेयरको कुल अंकित मूल्य १५ करोड रुपैयाँ बराबर हुनेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड नियुक्त भएको छ। यससम्बन्धी सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीका तर्फबाट अध्यक्ष लाल प्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन्।
सम्झौता समारोहमा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो।
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासलाई अघि बढाउने उद्देश्यसहित विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएको जनाएको छ।
कम्पनीले ‘सानो लगानी, ठुलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नाराका साथ ऊर्जा, सूचना तथा प्रविधि, सञ्चार तथा पर्यटनलगायतका क्षेत्रसँग सम्बन्धित आयोजनामा रणनीतिक रूपमा लगानी केन्द्रित गर्दै आएको जनाएको छ।
सर्वसाधारणका लागि प्रस्तावित आईपीओ निष्काशनमार्फत कम्पनीले लगानी विस्तार तथा पुँजी परिचालनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।




Comment