काठमाडौं । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने र राज्यको कर प्रणालीमा पारदर्शिता ल्याउने उद्देश्यका साथ कृषि विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन कार्यक्रम’ समावेश गरेको छ । अब कृषि विकास बैंकका ग्राहकहरूले वस्तु वा सेवा खरिद गर्दा क्यूआर कोडमार्फत भुक्तानी गरेर सिधै सरकारले सञ्चालन गरेको आकर्षक लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।
नेपाल सरकार र आन्तरिक राजस्व विभागद्वारा सुरु गरिएको यस कार्यक्रमले डिजिटल कारोबार गर्ने उपभोक्ताहरूलाई पुरस्कृत गर्ने नीति लिएको छ । यस प्रक्रियालाई थप सहज बनाउन कृषि विकास बैंकले आफ्नो एडीबीएल एपमा छुट्टै फिचर थप गरेको हो ।
कसरी सहभागी हुने ?
बैंकका अनुसार यस प्रोत्साहन कार्यक्रममा सहभागी हुन ग्राहकहरूले केही प्रक्रियाहरू पालना गर्नुपर्नेछ । नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि कुनै पनि वस्तु वा सेवा खरिद गर्दा कम्तीमा १०० रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्नुपर्नेछ । भुक्तानी गर्दा कृषि विकास बैंकको मोबाइल बैंकिङ एपमार्फत सम्बन्धित व्यवसायीको मर्चेन्ट क्यूआर स्क्यान गर्नुपर्नेछ । भुक्तानी गरेपछि सम्बन्धित पसल वा व्यवसायबाट अनिवार्य रूपमा प्यान वा भ्याट बिल लिनुपर्नेछ । पुरस्कार दाबी गर्न र प्रमाणीकरणका लागि उक्त बिल सुरक्षित राख्नुपर्ने बैंकले जनाएको छ ।
यस कार्यक्रमअन्तर्गत योग्य ठहरिएका डिजिटल कारोबारहरू स्वचालित रूपमा आन्तरिक राजस्व विभागको लक्की ड्र प्रणालीमा समावेश हुनेछन् । जसमध्ये हरेक दिन एक जना भाग्यशाली ग्राहकले कर कट्टीपछिको खुद १ लाख रुपैयाँ नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकलाई १० लाख रुपैयाँ नगद बम्पर पुरस्कार प्रदान गरिनेछ ।
एपमै हेर्न सकिनेछ आफ्नो प्रगति र नतिजा
कृषि विकास बैंकले ग्राहकको सहजताका लागि आफ्नो मोबाइल बैंकिङ एपभित्रै आईआरडी इन्सेन्टिभ प्रोग्राम नामक विशेष मेनुको व्यवस्था गरेको छ । यसमार्फत ग्राहकहरूले आफूले गरेका योग्य कारोबारहरूको कुल संख्या हेर्न, कारोबारको विस्तृत विवरण र इतिहास जाँच गर्न र पुरस्कारको अवस्था तथा लक्की ड्रको नतिजाबारे जानकारी लिन सक्नेछन् ।
बैंकले आफ्ना ग्राहकहरूलाई नगदरहित कारोबारमा अभ्यस्त गराउन र वित्तीय पारदर्शिता बढाउन यो कदम चालेको बताएको छ । डिजिटल भुक्तानी गर्दा उपभोक्ताले सुरक्षित र छिटो सेवा पाउने मात्र नभई राज्यको कर प्रणालीमा समेत योगदान पुग्ने बैंकको विश्वास छ । बैंकले सबै ग्राहकहरूलाई सामान खरिद गर्दा अनिवार्य रूपमा क्यूआर प्रयोग गर्न, प्यान/भ्याट बिल लिन र एपमार्फत आफ्नो योग्यता नियमित रूपमा जाँच गर्न आग्रह पनि गरेको छ ।





Comment