काठमाडौं । निर्देशक तथा पत्रकार गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रिम’ ले अमेरिकाको जर्जिया राज्यमा आयोजित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड’ जितेको छ।
अगस्ट ६ देखि ९ सम्म जर्जियाको मारिएट्टा सहरमा सम्पन्न महोत्सवमा नेपालबाट छनोट भएको एकमात्र फिल्म ‘द एभरेस्ट ड्रिम’ ले विश्वभरबाट सहभागी भएका डकुमेन्ट्रीहरूमाझ उत्कृष्टताको सम्मान प्राप्त गरेको हो।
महोत्सवका कार्यकारी निर्देशक तथा फेस्टिभल डाइरेक्टर डा. रिचर्ड टाभेनारोका अनुसार विभिन्न देशबाट प्राप्त प्रतिस्पर्धी फिल्महरूमध्ये ‘द एभरेस्ट ड्रिम’ उत्कृष्ट डकुमेन्ट्री घोषित भएको हो।
ब्रेन इन्जुरी (मस्तिष्क चोट) बाट बाँचेका बेलायती नागरिकहरूको असाधारण सगरमाथा यात्रामा आधारित यस डकुमेन्ट्रीले गम्भीर मस्तिष्क चोटपछि जीवनसँग संघर्ष गरिरहेका व्यक्तिहरूको पुनः उठ्ने साहस, सपना र त्यसलाई साकार पार्ने दृढ संकल्पको कथा प्रस्तुत गरेको छ।
फिल्ममा डाक्टरहरूले सामान्य रूपमा हिँड्न, बोल्न वा दैनिक जीवनमा फर्किन कठिन हुने बताएका केही व्यक्तिहरूले हार नमानी नेपाल आएर सगरमाथा आधार शिविर पुग्ने सपना कसरी पूरा गरे भन्ने प्रेरणादायी यात्रा समेटिएको छ।
द लिटिल शेर्पा फाउन्डेसनका जेम्स ल्याम्बको नेतृत्वमा पाँच जना ब्रेन इन्जुरी सर्वाइभर, उनीहरूका परिवारका सदस्यसहित सात जनाको टोली सगरमाथा आधार शिविर पुगेको थियो। निर्देशक पाण्डेले यही यात्रालाई करिब डेढ वर्षको मेहनतपछि डकुमेन्ट्रीका रूपमा प्रस्तुत गरेका हुन्।
यो उपलब्धिसँगै पाण्डेको अन्तर्राष्ट्रिय डकुमेन्ट्री यात्रामा अर्को महत्वपूर्ण सफलता थपिएको छ। यसअघि उनको चर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ ले सन् २०१७ मा यही महोत्सवमा ‘बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड’ जितेको थियो। त्यस्तै बहुपति प्रथामा आधारित ‘को–हजबेण्ड’ ले सन् २०२२ मा सोही सम्मान प्राप्त गरेको थियो।
यससँगै पाण्डेका तीन फरक डकुमेन्ट्रीहरूले कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन फरक वर्ष—२०१७, २०२२ र २०२६—मा ‘बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड’ जित्न सफल भएका छन्। नेपाली डकुमेन्ट्री क्षेत्रका लागि यसलाई महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ।
‘भाग्यले बाँचेकाहरू’ ले १७ भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार जित्नुका साथै ३२ भन्दा बढी देशमा प्रदर्शन भएको थियो भने ‘को–हजबेण्ड’ ले एक दर्जनभन्दा बढी उत्कृष्ट डकुमेन्ट्री अवार्ड जित्दै ४० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागिता जनाएको थियो।
‘द एभरेस्ट ड्रिम’ मा एसोसिएट निर्मात्री शारदा गैरे, क्यामेरापर्सन सुरेश श्रेष्ठ र निरज पन्थी, सम्पादक ईश्वर कोइराला, संगीतकार जुगल डंगोल र सन्दीप सरदार तथा न्यारेटर कौशल घिमिरेको योगदान रहेको छ।
नेपालमा प्रिमियर प्रदर्शनपछि अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूको यात्रा सुरु गरेको यस डकुमेन्ट्रीले आगामी दिनमा विश्वका विभिन्न प्रतिष्ठित महोत्सवहरूमा सहभागिता जनाउने तयारी गरिरहेको निर्देशक पाण्डेले बताए।
अवार्ड प्राप्तिपछि प्रतिक्रिया दिँदै पाण्डेले भने, “यो अवार्ड मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, हाम्रो सम्पूर्ण टिम र फिल्मका पात्रहरूको संघर्षको सम्मान हो। ब्रेन इन्जुरीपछि पनि मानिसले जीवनमा नयाँ सपना देख्न सक्छ र त्यसलाई पूरा गर्न सक्छ भन्ने सन्देश विश्वभर पुर्याउन पाउनु नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।”





Comment