काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बेहुली’ को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ। प्रेम र आकर्षणको भावलाई समेटिएको गीतमा फिल्मका प्रस्तुतकर्ता तथा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ।
गीतमा अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडको स्वर सुन्न सकिन्छ। गीतको मिक्सिङ तथा मास्टरिङ नरेश बिबिसीले गरेका हुन्।
सार्वजनिक गरिएको गीतको भिडियोमा ‘कुल ब्वाई’ का रूपमा परिचित पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङलाई फिचर्ड गरिएको छ। सियोन श्रेष्ठको कोरियोग्राफीमा तयार गरिएको भिडियोमा पारस र दिव्याको आकर्षक केमेस्ट्री देख्न सकिन्छ, जसले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको फिल्म ‘बेहुली’ मा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङका साथै सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन्। फिल्मका निर्माता प्रताप शमशेर राणा हुन् भने शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता रहेका छन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माताका रूपमा आबद्ध छन्। त्यसैगरी, कोसिस राज क्षेत्री र सम्राट क्षेत्रीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन्।
फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा सार्वजनिक गरिएको प्रमोशनल गीतले दर्शकमाझ फिल्मप्रतिको उत्सुकता थप बढाउने विश्वास निर्माण पक्षले लिएको छ।

Comment