अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फेरान टोरेसको अतिरिक्त समयको निर्णायक गोलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को उपाधि जितेको छ।

सोमबार बिहान अमेरिकाको न्युजर्सी स्टेडियममा सम्पन्न फाइनल खेलमा स्पेनले अर्जेन्टिनामाथि १–० को संघर्षपूर्ण जित निकाल्दै १६ वर्षपछि विश्वकप ट्रफी आफ्नो नाममा गरेको हो। यससँगै स्पेनले सन् २०१० पछि दोस्रो पटक विश्व च्याम्पियन बन्ने सफलता हासिल गरेको छ।

अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको २३औँ संस्करणको उपाधि उचाल्दै स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो प्रभुत्व पुनः स्थापित गरेको छ।

निर्धारित ९० मिनेट तथा इन्जुरी समयसम्म दुवै टोली गोलविहीन बराबरीमा रहेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको गोल नै खेलको निर्णायक बन्यो। उनले ११४औँ मिनेटमा पुनः जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषणा गरेपछि गोलले मान्यता पाएन।

खेलभर स्पेनले बल नियन्त्रण र आक्रमणमा वर्चस्व जमाए पनि अर्जेन्टिनाको रक्षापंक्ति तथा गोलरक्षक एमिलियानो मार्टिनेजले लामो समयसम्म दबाब झेलेका थिए। इन्जुरी समयको आठौँ मिनेटमा लामिन यामलको फ्रिकिक प्रहारलाई मार्टिनेजले उत्कृष्ट बचाउ गरेका थिए।

अर्जेन्टिनालाई थप झट्का इन्जुरी समयमै लाग्यो। मिडफिल्डर इन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि मैदान छाड्नुपरेको थियो, जसका कारण अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो।

पराजयसँगै अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्व च्याम्पियन बन्ने सपना अधुरै रह्यो। अर्जेन्टिना यसअघि सन् १९७८, १९८६ र २०२२ मा विश्वकप विजेता बनेको थियो।

फाइनलमा गोल गर्न नसकेपछि अर्जेन्टिनी कप्तान लियोनल मेस्सी गोल्डेन बुटको दौडबाट बाहिरिए। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले इजिप्टविरुद्धको खेलपछि गोल गर्न सकेनन्। प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार भने फ्रान्सका कप्तान केलियन एमबाप्पेले जिते।

पहिलो पटक ४८ राष्ट्र सहभागी भएको विश्वकपमा कुल १०४ खेल खेलिएका थिए। तीन देशका १६ शहरमा आयोजना गरिएको यो संस्करण विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता बनेको छ।

अब विश्वकपको २४औँ संस्करण सन् २०३० मा स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुनेछ। प्रतियोगिताको १०० वर्ष पुगेको अवसरमा उद्घाटन खेलहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा समेत खेलाइने कार्यक्रम रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।