काठमाडौं । नमोबुद्ध नगरपालिकाले बालविवाह, लागू पदार्थ दुर्व्यसन, साइबर अपराध लगायतका सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन गर्ने भएको छ।
नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा सञ्चालन हुने उक्त अभियानले विद्यालय उमेरका बालबालिका, युवा वर्ग तथा स्थानीय समुदायलाई सामाजिक समस्याप्रति सचेत बनाउने लक्ष्य लिएको छ। नाटकमार्फत समाजमा विद्यमान बालविवाह, लागुऔषध दुर्व्यसन, साइबर अपराध तथा अन्य समसामयिक सामाजिक विसंगतिका विषयलाई सशक्त ढंगले प्रस्तुत गरिने जनाइएको छ।
महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारादेवी सुनुवारका अनुसार असार ११ गते नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालय र असार १२ गते नमोबुद्ध नगरपालिका–९ दाप्चास्थित कृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा दिउँसो १ बजे नाटक प्रदर्शन गरिनेछ।
नाटक प्रदर्शनमा सहभागी भई सामाजिक सचेतना अभियानलाई सफल बनाउन विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूलाई उपस्थित हुन नगरपालिकाले आग्रह गरेको छ।
आदिइत्यादिको प्रस्तुति रहेको ‘सहीछाप’ नाटकको लेखन तथा निर्देशन रङ्गकर्मी पुरु लम्सालले गरेका छन्। नाटकमा वरिष्ठ कलाकार प्रभाकरदेव शर्मा, ‘खुपीका बाउ’का रूपमा परिचित कमलमणि नेपाल, ‘गौरी’का रूपमा परिचित अनामिका लामिछाने, सागर कार्की, सेविता अधिकारी, रुपेश मण्डल र अञ्जु खड्कालगायत कलाकारहरूको अभिनय रहनेछ।
सूचना, मनोरञ्जन र चेतनालाई एकैसाथ समेटिएको ‘सहीछाप’ ले सामाजिक विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गर्दै सकारात्मक सामाजिक परिवर्तनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

Comment