काठमाडौं । भारतले नेपालको पर्यटन क्षेत्रलाई भारतीय बजारमा नयाँ उचाइमा पुर्याउन विशेष पहल सुरु गरेको छ । नेपालस्थित भारतीय दूतावासले भारतीय सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व (इन्फ्लुएन्सर), भ्लगर र पडकास्टरहरूलाई नेपालको ‘परिचयात्मक भ्रमण’ गराउने घोषणा गरेको हो ।
दूतावासले जारी गरेको पछिल्लो सूचना अनुसार, यस कार्यक्रमका लागि कूल ५ जना भारतीय सामाजिक सञ्जाल इन्फ्लुएन्सर वा भ्लगरहरू छनोट गरिनेछ ।
उनीहरूलाई नेपालका हिमाल, ताल-तलैया, विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदा, मन्दिर, गुम्बा र स्थानीय जीवनशैलीको प्रत्यक्ष अनुभव गराइनेछ ।
यो भ्रमणले नेपाललाई भारतीय पर्यटकहरूका लागि नजिकको, सुरक्षित र स्वागतयोग्य गन्तव्यका रूपमा चिनाउने लक्ष्य राखेको छ।
विशेष गरी नेपालको प्राकृतिक सौन्दर्य र आध्यात्मिक गन्तव्यहरूलाई लक्षित गर्दै निर्माण गरिने डिजिटल सामग्रीले भारतीय दर्शकमाझ सकारात्मक प्रभाव पार्ने दूतावासको विश्वास छ।
सहभागीहरूले तयार पार्ने भिडियो, रिल्स, ब्लग र पडकास्टहरूले भारतीय पर्यटकहरूलाई फुर्सदको समय, तीर्थयात्रा, साहसिक पर्यटन र पारिवारिक भ्रमणका लागि नेपाल रोज्न प्रोत्साहित गर्नेछन्।
को-को सहभागी हुन पाउँछन्?
दूतावासका अनुसार आवेदन दिनका लागि आवेदक भारतीय नागरिक वा भारतमा आधारित डिजिटल सामग्री निर्माता हुनुपर्नेछ। युट्युब, इन्स्टाग्राम, फेसबुक वा एक्स जस्ता प्लेटफर्ममा सक्रिय उपस्थिति भएका र यात्रा, संस्कृति, अध्यात्म तथा जीवनशैलीका क्षेत्रमा गुणस्तरीय सामग्री बनाउने अनुभव भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। आवेदकको ‘कन्टेन्ट’ गुणस्तर, दर्शकको पहुँच र सिर्जनशीलताका आधारमा अन्तिम छनोट गरिनेछ।
इच्छुक इन्फ्लुएन्सरहरूले आगामी ३० मे २०२६ सम्ममा आफ्नो विस्तृत विवरणसहित आवेदन दिनुपर्नेछ । आवेदनमा व्यक्तिगत जानकारीका साथै सामाजिक सञ्जालका लिङ्कहरू, फलोअर्सको संख्या र नेपालको पर्यटन प्रवर्द्धनका लागि आफ्ना योजनाहरू खुलाउनुपर्नेछ।
छनोट भएका सहभागीहरूलाई भ्रमणको मिति, भ्रमण तालिका र अन्य प्राविधिक विवरणहरू पछि जानकारी गराइने दूतावासले जनाएको छ। यो अभियानले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपालको पर्यटन उद्योगमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।



Comment