ठगी तथा आपराधिक कसूरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका पाण्डेलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार, ‘स्मार्ट टेलिकम प्रालि’ को अनुमतिपत्र रद्द भएपछि नेपाल सरकारको नियन्त्रणमा आएको सम्पत्तिमा बेइमानीपूर्वक हानी–नोक्सानी पु¥याएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ । ६३ वर्षीय पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा सिन्धुली बसपार्कस्थित मदन भण्डारी राजमार्ग क्षेत्रबाट २०८३ वैशाख २९ गते राति पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

प्रहरीका अनुसार पाण्डे फरार हुने प्रयासमा रहेका बेला सवारी चेकजाँचका क्रममा फेला परेका थिए । उनले प्रयोग गर्दै आएको मोबाइल फोन समेत स्विच अफ गरेर सम्पर्कविहीन बनेको सीआईबीको दाबी छ ।

अनुसन्धानबाट स्मार्ट टेलिकमले अनुमतिपत्र नवीकरण नगरेपछि सरकारको स्वामित्वमा आएका भौतिक संरचना तथा प्रणालीलाई लिलामी प्रक्रियामार्फत सरकारी हक कमजोर बनाउने उद्देश्यले काम भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । पाण्डे लोन रिकभरी कमिटी (एलआरसी) का अध्यक्षको भूमिकामा उक्त प्रक्रियामा संलग्न रहेको आरोप छ ।

यसैबीच, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ले २०८२ असोज ३ गते प्रकाशित गरेको लिलामी सूचनामा घरबहाल तथा विद्युत महसुलबापत करिब ४० करोड रुपैयाँसमेत कबोल गर्नुपर्ने शर्त राखिएको विषय पनि अनुसन्धानको दायरामा परेको छ । उक्त रकम असुल गरे पनि सम्बन्धित घरधनी तथा विद्युत प्राधिकरणलाई हालसम्म भुक्तानी नगरेको आरोप प्रहरीको छ ।

प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ । घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको भूमिकासमेत अध्ययन भइरहेको सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठ ले जानकारी दिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।