शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न थप ३ दिन म्याद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छा विरुद्ध अनुसन्धानका लागि थप ३ दिन थुनामा राख्न अनुमति दिएको छ। सोमबार अदालतले उक्त आदेश दिएको हो।

गोल्छा गत बिहीबार नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा नक्सालबाट पक्राउ परेका थिए। नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा पक्राउ गरी यसअघि ४ दिन म्याद थपिएको थियो भने अब थप ३ दिन सीआईबी नियन्त्रणमै राखेर अनुसन्धान गरिने भएको छ।

हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्षसमेत रहेका गोल्छामाथि धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गत दफा ९४, ९५, ९६ (उपदफा १) र दफा ९८ बमोजिम कसुरमा अनुसन्धान भइरहेको छ। सोही ऐनको दफा १०३ (उपदफा ३) अनुसार थप अनुसन्धान र कारबाहीका लागि सेबोनको प्रारम्भिक प्रतिवेदन २०८३ प्राप्त भएपछि वैशाख १० गते अदालतले पक्राउ अनुमति दिएको थियो।

के हो आरोप?
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल को सेयर कारोबारमा सहयोग गरेको अभियोगमा गोल्छालाई पक्राउ गरिएको हो।

अनुसन्धानअनुसार हिमालयन रिइन्स्योरेन्सको रकम दुरुपयोग गरी दीपक भट्ट, सुलभकी पत्नी सुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरको नाममा सेयर खरिद गरी त्यसको राफसाफमा गोल्छाले सहयोग गरेको आरोप छ।

सेबोनको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’ मा गोल्छाले गैरकानुनी गतिविधिमा सहयोग गरेको उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार गोल्छासहित रोहित गुप्ता, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन रि र हिमालयन क्यापसर्भजस्ता संस्थाहरूले भृकुटी स्टकबाट रकम लिन बाँकी हुँदा पनि थप रकम जम्मा गरेको र धितोपत्र बिक्री बापतको रकमसमेत नलिएको देखिएको उल्लेख छ।

अनुसन्धानका क्रममा हिमालयन रिइन्स्योरेन्ससँग सम्बन्धित २ अर्ब ७३ करोड रुपैयाँ बराबरको बक्यौता देखिएको समेत जनाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।