काठमाडौं । दाउन्ने फ्लोर मिल्सको व्यापार सन् २०२५ मा ५.५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सन् २०२४ को तुलनामा कारोबार बढाउँदै १ अर्ब ४ करोड रुपैयाँ पुर्याएको हो।
कम्पनीका अनुसार सन् २०२४ मा ९८ करोड ६० लाख रुपैयाँको कारोबार भएको थियो भने सन् २०२३ मा १ अर्ब १७ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो। यसले अघिल्लो वर्ष घटेको व्यापार सन् २०२५ मा पुनः सुधारतर्फ उन्मुख भएको संकेत देखाएको छ।
नाफातर्फ पनि कम्पनीले उल्लेखनीय सुधार गरेको छ। सन् २०२५ मा कम्पनीको खुद नाफा ०.२६ प्रतिशत पुगेको छ, जुन सन् २०२४ मा मात्र ०.०१ प्रतिशत थियो।
सन् २०१३ मा स्थापना भएको दाउन्ने फ्लोर मिल्सले गहुँ प्रशोधन गरी मैदा तथा अन्य खाद्य सामग्री उत्पादन गर्दै आएको छ। नवलपरासीको रामग्राममा अवस्थित उद्योगमा दुई वटा ग्राइन्डिङ युनिट रहेका छन्। कम्पनीले दैनिक १८० मेट्रिक टन मैदा र ६० मेट्रिक टन आँटा उत्पादन गर्ने क्षमता राखेको छ।
‘दाउन्ने गोल्ड’ ब्रान्डमार्फत कम्पनीले आफ्ना उत्पादनहरू एक केजीदेखि ५० केजीसम्मका प्याकेजिङमा बजारमा उपलब्ध गराउँदै आएको छ।
गणेशप्रसाद पोखरेल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ५३ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ। जसअनुसार दीर्घकालीन कर्जाका लागि २६ करोड ३७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २७ करोड ३ लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल कर्जा भने ५३ करोड ८० लाख रुपैयाँबाट केही घटेको देखिन्छ।

Comment