प्रत्यक्ष नियामक फर्म–कम्पनीको डलर सटही सीमा बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष नियामक निकायमा रहेका कम्पनी तथा फर्महरूको डलर सटही सीमा वृद्धि गरेको छ। बिहीबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले सेवाको आयातमा सटही गर्न सकिने रकमको सीमा बढाउने निर्णय गरेको हो।

बीमा कम्पनी, इन्टरनेट सेवा प्रदायक लगायत प्रत्यक्ष नियमनकारी निकायको सिफारिसमा अब १५ हजार अमेरिकी डलरसम्म सटही गर्न राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छ। यसअघि १२ हजार डलरभन्दा बढीको सेवा आयात भुक्तानीका लागि नियमनकारी निकायको सिफारिससँगै राष्ट्र बैंकको अनुमति अनिवार्य थियो।

संशोधित व्यवस्थाअनुसार एक पटकमा १५ हजार डलरभन्दा माथिको सेवा आयात भुक्तानीका लागि मात्र राष्ट्र बैंकको स्वीकृति आवश्यक हुनेछ। साथै, विदेशी बैंकको बैंक ग्यारेन्टी चाहिने सीमा पनि प्रतिपटक १५ हजार डलर बराबरको परिवर्त्य विदेशी मुद्रा भुक्तानीमा मात्र लागू हुने उल्लेख छ।

राष्ट्र बैंकले विदेशी संस्थाले नेपालमा सञ्चालन गर्ने भाषा परीक्षा (आईईएलटीएस, टोफेल, पीटीई, जिआरई, जीम्याट, स्याट) लगायतका मानकीकृत परीक्षण सेवाको भुक्तानीका लागि पनि १५ हजार डलरसम्मको सटही सुविधा वाणिज्य बैंकमार्फत उपलब्ध गराउने व्यवस्था गरेको छ।

केन्द्रीय बैंकले यससँगै विदेशी विनिमयसम्बन्धी ८५ वटा व्यवस्थामा एकैपटक संशोधन गरेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।