काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि अवितरित हकप्रद शेयर लिलामी बिक्री खुला गरेको छ। कम्पनीले संस्थापक र सर्वसाधारण समूह गरी कुल २ लाख २४ हजार ७ सय २८ कित्ता शेयर लिलामीमा ल्याएको हो।
कम्पनीका अनुसार, लिलामीमा रहेको शेयरमध्ये संस्थापक समूहको ८० हजार २ सय २२ कित्ता र सर्वसाधारण समूहको १ लाख ४४ हजार ५ सय ६ कित्ता शेयर रहेका छन्। यस लिलामीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
कम्पनीले शेयरको न्यूनतम मूल्य रू. १०० तोकेको छ र सो मूल्यभन्दा बढी कबुल गर्ने लगानीकर्तालाई प्राथमिकताका आधारमा शेयर बाँडफाँड गरिनेछ। सबैभन्दा बढी मूल्य कबुल गर्ने आवेदकलाई पहिलो प्राथमिकतामा शेयर वितरण गरिनेछ। यदि बाँकी रहेमा क्रमशः दोस्रो र तेस्रो उच्च बोलीकर्ता मार्फत बाँडफाँड गरिनेछ।
लिलामी शेयरमा आवेदन दिन चाहनेले सर्वसाधारण शेयरको हकमा न्यूनतम १०० कित्ता र संस्थापक शेयरको हकमा न्यूनतम १,००० कित्ता आवेदन दिनुपर्नेछ। अधिकतम आवेदन भने उपलब्ध सम्पूर्ण कित्ताको लागि गर्न सकिनेछ। संस्थापक शेयरमा हाल कायम रहेका संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ। आवेदन दिने अन्तिम म्याद असार ३० गतेसम्म रहेको छ।
यसअघि कम्पनीले वैशाख ३० देखि असार ३ गतेसम्म १:०.२७ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो। जसअनुसार हाल कायम चुक्ता पुँजीको २७ प्रतिशतबराबरको १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरका १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद शेयर सार्वजनिक गरिएको थियो। त्यसमध्ये बिक्री नभएका शेयर अहिले लिलामी प्रक्रिया अन्तर्गत विक्री गरिंदैछ।

Comment