काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकहरूमा लगानी गर्ने लगानीकर्ताले उचित प्रतिफल पाउने वातावरण निर्माण हुनुपर्नेमा जोड दिएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय बैंकहरूको लाभांश वितरण क्षमतामा आएको गिरावटप्रति चिन्ता व्यक्त गरे।
“बैंकमा पनि कसैको लगानी हुन्छ, तर अहिले नीतिगत कारणले बैंकहरू लाभांश दिन सक्ने अवस्थामा छैनन्,” अध्यक्ष कोइरालाले भने, “लगानीकर्ताले कहिले प्रतिफल पाउँछन् भन्ने प्रश्न गम्भीर छ। त्यसैले अब लचिलो नीतिको आवश्यकता छ, जसले अर्थतन्त्रलाई पुनः गतिशील बनाउन सहयोग पुर्याउँछ।”
कोइरालाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकिङ क्षेत्रमैत्री र यथार्थपरक नीति ल्याउन आग्रह गरे। साथै, उनले बैंकहरूले गैर–बैंकिङ सम्पत्तिको व्यवस्थापनमा भोगिरहेको अवरोधबारे पनि बोले। “बैंकहरूले आफ्नो सम्पत्ति बिक्री गर्न खोज्दा स्थानीय तहले सहजीकरण गर्दैनन्,” उनले बताए, “सम्पत्ति व्यवस्थापनका लागि शक्तिशाली एसेट म्यानेज्मेन्ट कम्पनी गठन गर्नुपर्छ, जसले सम्पत्ति बेचबिखनको जिम्मा लियोस्।”
उनले लिलामी प्रक्रियालाई अझै प्रभावकारी बनाउन फोटो र नाम खुलाउन नपाइने व्यवस्था पर्याप्त नहुने उल्लेख गर्दै नीतिगत स्तरमै सुधार आवश्यक रहेको बताए।
कोइरालाले ‘डिरेक्टिभ सेक्टर लेंडिङ पोलिसी’ पुनरावलोकनको माग गर्दै औसत आधार दर ६ प्रतिशत हुँदा पनि ८ खर्ब रुपैयाँ लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थन्किएको तथ्यांक सार्वजनिक गरे। “त्यो रकम बजारमा जान सक्ने वातावरण बनाउन सकिने नीतिहरू ल्याइयो भने बैंकिङ प्रणाली पनि चलायमान बन्छ,” उनले निष्कर्ष सुनाए।
उनको भनाइमा बैंकिङ क्षेत्रको सबलता देशको समग्र आर्थिक स्थायित्वसँग जोडिएको छ। त्यसैले नीति निर्माताले समन्वयात्मक, लचिलो र दूरदर्शी नीति बनाउनुपर्ने समय आएको छ।
Comment