पढेको र सुनेको बिषयलाई एकछिन किनारा लगाउने हो भने हाम्रो पुस्ताले भोग्नु परिरहेको एउटा ठुलो संकटबाट हामी अहिले गुज्रिरहेका छौं ।अहिलेलाई हरेक राज्य र नागरिकको एकमात्र प्राथमिकता कोरोना बनिरहेको छ। कोभिड-१९ को उत्पत्ति, यसको प्रभाव र यसमा राज्य र नागरिकको भूमिकाको विषय अहिले नै अन्त्य हुने बिषय होइनन । यी बिषयहरुमा बर्षौंवर्ष सम्म छलफल र वहस भैरहनेछ ।
झन्डै ६-७ महिनाको लकडाउन तर्फ मुलुक अगाडी बढीरहँदा आज मुलुकमा सम्पूर्ण शैक्षिक गतिविधिहरु पनि लकडाउनमै छन् । यो स्वभाविक पनि छ । एसइइ परीक्षा संचालन हुनुपर्ने गरि तोकिएको समयको करिव १२ घण्टा मात्र अगाडि स्थगित भएर, स्थगित नै छ । कक्षा ११ र १२ अनि विश्वविद्यालय तहका परीक्षाहरु समेत अर्को सूचना नभएसम्मलाई स्थगित छन् ।अर्को सूचना कहिले आउने हो निश्चित छैन । एकातिर यो महामारीबाट कसरी जोगिने हो भन्ने मात्र प्राथमिकता भएको बेला शैक्षिक गतिविधिको विषयमा वहस नै अनुपयुक्त छ भन्ने एउटा जमात छ । अर्कोतर्फ शिक्षासँग सम्बन्धित केहि निकाय र यसमा सरोकार राख्नेहरु विभिन्न कोणबाट छलफल चलाईरहेका छन् । छलफल र वहस जरुरी छ । तर एउटा ठुलो जमात अहिले हरेक दिनजसो खासगरी सामाजिक संजालहरुमा निस्कर्षहरु फालिरहेको छ । यस्तो लाग्छ ( मानौं आज उसले निस्कर्ष दिएन भने उ छुट्नेछ । हामीले आज दिएका निस्कर्षहरु भोलि नै गलत सावित भैरहेका छन् भन्ने हेक्का राखौं । छिट्टै ठिकठाक हुनेछ भन्ने कामना त ठिक छ । तर निस्कर्षहरु दिने बेला होइन यो ।
यो बिचमा केहि शैक्षिक संस्थाहरु अनलाइन पढाई सुरु गरियो भनेर हल्ला गरिरहेका छन् । उपलब्ध टेक्नोलोजी प्रयोग गरेर विधार्थी, अभिभावक र शिक्षकहरुबिच अन्तक्रिया गर्नु राम्रो बिषय हो । तर पढाईको हिसाबले कति प्रतिशत विद्यार्थीहरु भर्चुअल कक्षामा जोडिएर अध्ययन गर्न सक्ने स्थिति छ ? कति प्रतिशत विद्यार्थीहरु त्यो खालको अध्ययन गर्न मिल्ने इन्टरनेटको पहुँचमा छन् ? जोडिन सक्ने विद्यार्थीहरुको समेत फेरी रुटिन वाइज कक्षामा रुचि होला ? अहिले रुटिन वाइज पढ्ने र पढाउने बेला होइन यो। खासगरी हाम्रो सन्दर्भमा भन्नुपर्दा १, २ महिना पछाडीबाट सम्पूर्ण गतिविधिहरु संचालन गर्न सकियो भने पनि शैक्षिक तालिकामा असर नपर्ने स्थिति छ ।
विश्वविद्यालय तहका विद्यार्थीहरुको लागि Virtually सिक्ने कुरा महत्वपूर्ण हुनसक्छ । तर अध्ययनको लागि नयाँ भनेर फेरी उही पुराना अनुहारले पढाउनु नयाँ हुन सक्ला र ? उनीहरुलाई अध्ययन गर्नुपर्ने सम्पूर्ण बिषयहरु गुगलमा छन् भन्ने थाहा छ । समस्या भनेको हिजोको जस्तै अध्ययन गर्न उनीहरुलाई प्रेरित गर्न नसक्नु हो । विश्वोविद्यालय तहका विद्यार्थीहरुलाई आवश्यक श्रोत सामाग्रीहरुको विषयमा जानकारी दिँदै ति विषयहरु अध्ययन गर्न प्रेरित गर्नु आवश्यक छ ।
विद्यालय तहका विद्यार्थीहरुको हकमा पाठ्यक्रममा आधारित कक्षाहरु कम्तिमा अहिलेका आवश्यकता हैनन् । विद्यालयगत हिसाबले संख्या तलमाथि होला तर अहिले धेरै संख्यामा विद्यार्थीहरु गाउँमा छन् । सम्पूर्ण विद्यार्थीहरु परिवारसँग छन् । अझ महत्वपूर्ण कुरा उनीहरु परिवार सँगै सबै फुर्सदमा छन् । हिजो अभिभावकलाई एउटा बहाना थियो – हामी व्यस्त छौं । विद्यार्थीहरुलाई पनि एउटा बहाना थियो – दिनभर स्कुलमा पढेर थाकेको छु । आज त यी केही बहाना छैनन् । अब यसरी सोचौं – आफ्नो बच्चाले आफ्ना वरिपरिका विषयवस्तु र सन्दर्भ प्रति कस्तो प्रतिक्रिया दिइरहेको छ ? उसले समय मिल्दा आफ्नो काम आफैैँ गर्न खोजिरहेको छ ? वा तपाइले उसलाई मौकै दिनु भएको छैन । विभिन्न माध्यमबाट आइरहेका सुचना, समाचारहरु प्रति उसको प्रतिक्रिया कस्तो छ ? अरुहरु समस्यामा परिरहेको वा खुसि भैरहेको बिषयले उसको अनुहारको भावमा कुनै परिवर्तन ल्याएको छ कि छैन ? तपाई सँगसँगै बस्न पाएको बिषयले उसलाई साँच्चै खुसी लागेको छ ? उसका साथीहरुलाई कत्तिको मिस गरिरहेको छ । के त्यो मिस स्वभाविक छ ? अनि तपाई- हिजो समय थिएन होला । आज त छ । के तपाई मिल्दा आफ्ना नानीबावुहरुलाई समय दिन सक्नुहुँदो रहेछ ? उनीहरुले तपाईबाट केही कुराहरु त सिकीरहेका छन् ?
विद्यार्थी र अभिभावकले एक अर्कालाई ठिकसँग बुझ्न नसक्नु आजको एउटा समस्या हो। यो समस्या केहि हद सम्म विद्यार्थी र शिक्षकको बिचमा पनि छ । विद्यार्थी र अभिभावक बिच एक अर्कालाई ठिक ढंगले बुझ्न र बुझाइमा रहेका समस्याहरु हटाउन अहिलेको लकडाउन भन्दा उपयुक्त मौका नमिल्न सक्छ । अभिभावकले खोजे अनुसारको सँस्कारिक छोराछोरीहरु हुन नसक्नुका कारणहरु वा छोराछोरीहरुले बुझे जस्तो आधुनिक बुबाआमा हुन नसक्नुका कारणहरु र त्यस्का सिमाहरु बुझ्ने र बुझाउने यो उपयुक्त मौका हो । शिक्षकहरु पनि आफ्नो परिवारमा रहेका साना नानीबावुहरुका गतिविधिहरुलाई रुटिन भन्दा बाहिर निस्किएर नियालौं । तपाइले पढाउने उमेर समुहका विद्यार्थीहरुले गर्ने व्यवहार बुझ्ने मौका पनि हो यो ।
विद्यालयहरु सकेसम्म उपलब्ध माध्यम प्रयोग गरेर विद्यार्थीहरुसँग सम्पर्कमा रहौं । उनीहरुलाई केहि कुरा सिक्न र बुझ्न प्रेरित गरौँ । सबै कुराहरु विद्यार्थीहरुलाई सिकाउने नै हो, उनीहरु आफैँ केहि सिक्न र बुझ्न सक्दैनन् भन्ने भ्रमबाट मुक्त हौँ । बहुसंख्यक विद्यार्थीहरु सहभागी हुन नसक्ने अनलाइन कक्षाहरुको साटो केहि सृजनसिल कार्यहरु गर्ने प्रोजेक्ट वोर्कहरु गर्न लगाउँ ताकी विद्यार्थीहरुले आफ्नो रुचि अनुसार आफ्नै समयमा सम्पादन गर्न सकुन् । जति सकिन्छ उनीहरुलाई आफु, परिवार र समाज बुझ्न प्रेरित गरौँ । भोलि विद्यालय फर्केर आएपछि उनीहरुको व्यवहारको विस्तृत अध्ययन गर्ने कार्ययोजना बनाऔं ।
अभिभावकहरु, आफ्ना नानीबाबुहरुको रिजल्ट आएन भनेर चिन्ता नगरौं । तपाई स्वयं र विद्यार्थीलाई पनि लगभग थाहा छ कस्तो रिजल्ट आउँछ भनेर । रिजल्ट अनलाइन पाउनुभयो ठिकै छ तर नपाउँदा पनि केहि बितेको छैन । यो बिचमा तपाइको बच्चालाई अनलाइन पढाईएन भनेर पनि सुर्ता नगरौं । अहिलेको सन्दर्भमा त्यो पनि एउटा भुलाउने माध्यम मात्र हो । अहिले पाठ्यक्रम भन्दा पनि तपाइले चाहेर पनि आफुले सिकाउन नपाएका बिषयहरु सिकाउने अवसर हो । उनीहरुको उमेर, क्षमता र रुची अनुसारका व्यावहारिक कामहरु सिकाऔं । तपाइले उनीहरुको लागि गरेको सबैभन्दा महत्वपुर्ण योगदान यहि नै हुनेछ । भोली शैक्षिक शत्र नै समस्यामा पर्ने भयो भने केहि न केहि उपाय आउने नै छ । यो समस्या तपाइको मात्र हैन । विद्यालय खुलेपछि बिदाहरु कटौती गरेर विभिन्न तरिकाले विद्यालयहरुले कोर्सहरू पुरा गर्नेछन् । परीक्षाहरु लिनेछन् र सबै कुरा नियमित हुनेछ । तर आफैँले केहि कुरा सिकाउने वा आफ्ना नानीबावुहरुलाई बुझ्ने अर्को अवसर नमिल्न सक्छ । यो बुझ्ने र बुझाउने कुरा अहिलेलाई मात्र नभएर जिन्दगी भरिलाई नै महत्वपुर्ण हुनेछ । यसको सदुपयोग गरौँ ।
(लेखक पराजुली काठमाडाैं म्हेपी स्थित प्रेसियस नेशनल एकेडेमीका प्रिन्सिपल हुनुहुन्छ ।)
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।