add

ऋणीको वर्गीकरण गरिँदै, कर्जा स्वीकृत भएको ७ दिनभित्र विवरण पठाउनुपर्ने






ActPro Nepal

|

६ मंसिर, २०८१

|
80

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ऋणीहरूको वर्गीकरण गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । राष्ट्र बैंकले ‘कर्जा सूचना सम्बन्धी व्यवस्था’ बारे तयार पारेको मस्यौदामा ऋणीको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको हो ।

मस्यौदा अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीलाई नियतपूर्वक ऋण नतिर्ने र परिस्थितिवश ऋण तिर्न नसक्ने भनेर छुट्याउनुपर्नेछ ।

भुक्तानीको भाखा नाघेको १ वर्षसम्म पनि बैंकको सम्पर्कमा नआएका, ऋण नतिरी बेपत्ता भएका वा भागेका, कर्जाले भाखा नाघे पनि व्यवसायलाई निरन्तरता दिने पहल स्वरुप ऋणको पुनर्संरचना वा पुनरतालिकीकरणको लागि आवेदन पेश नगरेका र भुक्तानीको प्रतिबद्धता जाहेर नगरेका ऋणीलाई नियतपूर्वक ऋण नतिर्ने ऋणीको सूचीमा राख्नुपर्ने मस्यौदामा उल्लेख छ ।

त्यसैगरी, संस्थाको कर्जा बक्यौता राफसाफ गर्न धितो बिक्री गर्न सकिने अवस्था हुँदाहुँदै पनि बिक्री गर्न नखोज्ने वा नदिने, भाखा नाघेको कर्जा चुक्ता गरी कर्जालाई नियमित गराउन प्रयास नगरेका, संस्थाबाट जुन परियोजनाको लागि ऋण लिएको हो सो बाहेक अन्य प्रयोजनमा ऋण प्रयोग गर्ने ऋणी पनि नियतपूर्वक ऋण नतिर्ने ऋणी पर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

त्यस्तै, ऋण तिर्ने मनसाय हुँदाहुँदै पनि काबु बाहिरको परिस्थितिका कारण व्यवसाय घाटामा वा समस्याग्रस्त हुन गई तोकिएको म्यादभित्र ऋण तिर्न नसकेता पनि वित्तीय संस्थाको सम्पर्कमा रही कर्जा पुनरसंरचना वा पुनरतालिकीकरणको प्रक्रिया पूरा गरी इजाजतपत्रप्राप्त संस्थालाई मान्य हुने तवरबाट भुक्तानीको प्रतिबद्धता जाहेर गरेका ऋणीलाई परिस्थितिवश कर्जा तिर्न नसकेको वर्गमा राख्नु पर्नेछ ।

निरन्तर बैंकको सम्पर्कमा रही एकभन्दा बढी व्यवसायको स्रोतबाट आर्जित प्रतिफल तथा आफूसँग भएको अन्य सम्पत्ति र धितो बिक्री गर्न पहल गरेका र यस्तो पहल पर्याप्त हुँदा समेत कर्जा तिर्न असमर्थ भएका ऋणीलाई परिस्थितिवश कर्जा तिर्न नसक्ने ऋणीमा वर्गीकरण गर्नुपर्नेछ ।

७ दिनभित्र कर्जा सूचना केन्द्रमा विवरण पठाउनुपर्ने

अब बैंक तथा वित्तीय संस्थाहरूले कर्जा स्वीकृत भएको ७ दिनभित्र सम्पूर्ण विवरण कर्जा सूचना केन्द्रमा पठाउनुपर्ने भएको छ । मस्यौदा अनुसार बैंक तथा वित्तीय संस्थाहरूले सम्पूर्ण कर्जाको विवरण कर्जा स्वीकृत गरेको वा कर्जा प्रवाह भएको ७ दिनभित्र कर्जा सूचना केन्द्रमा अद्यावधिक गर्नुपर्ने छ ।

यसैगरी, ९० दिनभन्दा बढी भाखा नाघेका सम्पूर्ण कर्जा वा सुविधाको विवरण भाखा नाघेको ७ दिनभित्र कर्जा सूचना केन्द्रमा पठाउनुपर्नेछ । बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक त्रैमास समाप्त भएकोे ७ दिनभित्र सम्पूर्ण विवरण कर्जा चुक्ता नभएसम्म कर्जा सूचना केन्द्रको सूचना प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था मस्यौदामा गरिएको छ ।

यसरी केन्द्रमा पठाएको विवरणमा पछि कुनै परिवर्तन भएमा वा कर्जा चुक्ता भएमा, भाखा नाघेको कर्जा भएमा वा पुनर्संरचना वा पुनर्तालिकीकरण भएमा सोको जानकारी समेत ७ दिनभित्र केन्द्रको प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृति, थप कर्जा प्रवाह, कर्जा नवीकरण र कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्नु अगावै ऋणी(ग्राहकको बारेमा अनिवार्य रुपमा कर्जा सूचना लिनुपर्नेछ । तर, मुद्दति रसीद, सरकारी सुरक्षणपत्र धितो कर्जा, १० लाखसम्मका सुनचाँदी कर्जा, ३ लाखसम्मको क्रेडिट कार्ड सुविधा एवं संक्षिप्त प्रक्रिया पूरा गरी विद्युतीय माध्यमबाट स्वीकृत भई प्रवाह भएका ५ लाखसम्मको कर्जामा भने यो व्यवस्था अनिवार्य नहुने मस्यौदामा उल्लेख छ ।

१० लाख बढी ऋण लिने कालोसूचीमा

बैंक वित्तीय संस्थाबाट १० लाख वा सोभन्दा बढीको कर्जा(सुविधा लिएका ऋणीको कर्जा खराब वर्गमा वर्गीकरण भएमा कालोसूचीमा राख्नु पर्नेछ । तर परिस्थितिवश ऋण तिर्न नसक्ने ऋणीको हकमा कर्जाको साँवा, ब्याज वा किस्ता तिर्न थप समय प्रदान गरेको अवस्थामा त्यस्तो थप समय व्यतीत भएपश्चात मात्र उक्त ऋणीलाई कालोसूचीमा राख्न सिफारिस गर्नुपर्नेछ ।

त्यसैगरी नक्कली चेक, ड्राफ्ट, विदेशी मुद्रा, क्रेडिट(डेविट कार्ड, बिल्स आदि कागजात तथा विद्युतीय उपकरण प्रयोग गरी रकम ठगी गरेमा वा ठगी गर्ने प्रयास गरेको विषयमा अदालतबाट कसुरदार ठहरिएमा पनि कालोसूचीमा राख्नुपर्ने छ ।

कुनै व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्था वित्तीय कारोबार सम्बन्धी अपराधमा संलग्न भएको ठहर भएमा, कर्जा तथा सुविधाको दुरुपयोग भएमा, सुरक्षणमा राखेको सामान/सम्पत्ति दुरुपयोग गरेको प्रमाणित भएमा, कुनै व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्था वित्तीय कारोबार सम्बन्धी अपराधमा संलग्न भएको प्रमाणित भएमा कालोसूचीमा राख्नुपर्नेछ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.