काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् ।
राष्ट्रिय कर दिवस २०८१ को अवसरमा महांसघको सचिवालयमा आयोजित ‘लगानीमैत्री वातावरण प्रवद्र्धनको लागि अन्तरनिकाय समन्वय’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्ड नै त्यो देशले परिचालन गर्ने राजस्वको आयतनमा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सवल अर्थव्यवस्था र उन्नत समाज निर्माणको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताए ।
ढकालले विगत केही वर्षदेखि निजी क्षेत्र र सरकारको समेत अत्यन्त चासोकोे रुपमा रहेको लगानी प्रवद्र्धन सम्बन्धी विषयले समग्र कर प्रशासनलाई झकझकाई यस पटकको कर दिवसमा दिशा निर्देश गरेको हुँदा यो मुद्दाले गति लिन थालेको आभास निजी क्षेत्रलाई भएको जानकारी दिए ।
उनले कर प्रशासनले राजस्व लक्ष्य निर्धारण र संकलन मात्र हैन करदाताको मनोबल बढाई व्यवसायिक गतिविधि बढाउने क्रियाकलाप र वातावरण सृजना गर्ने तर्फ ध्यान दिइएमा राजस्व संकलन स्वभाविक रुपमा वृद्धि भई आर्थिक गतिविधि बढ्ने बताए ।
अध्यक्ष ढकालले आन्तरिक स्रोतको परिचालन भन्ने बित्तिकै त्यसको प्रतक्ष्य सम्वन्ध त्यो मुलुकको कर प्रणाली र राजस्व प्रशासनसँग जोडिएको हुनाले लक्षित राजस्व संकलनको लागि उद्योगधन्दा, व्यवसायजन्य क्रियाकलापहरू सुव्यवस्थित ढंगले सञ्चालन भएको हुनु पर्नेमा जोड दिए ।
यसको लागि व्यवसायमैत्री वातावरण निर्मााणको साथै विदेशी लगानीको हकमा लगानी र प्रतिफलको फिर्ताको सुनिश्चितता सहित सम्वद्ध सबै सरकारी निकायहरूको एकिकृत र समन्वयकारी प्रयासको आवश्यकता रहेको जानकारी दिए ।
आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, उद्योग विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकहरू उपस्थित भएको उक्त कार्यक्रममा कार्य समितिका पदाधिकारी र विभिन्न वस्तुगत संघ र उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।