विनोद आत्रेय
पूर्व कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
प्रबन्ध निर्देशक, बिएफआइएन (बैंकिङ फाइनान्स इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल)
लकडाउन र कोरोना सङ्कटको कारण सृजना भएको यस विषम परिस्थितिको असर नेपालका विभिन्न क्षेत्रहरुमा परेको छ । पर्यटन तथा होटल, निर्माण तथा पूर्वाधार, उत्पादन, आयातनिर्यात हुँदै बैंक तथा वित्तीय क्षेत्र सम्म पर्ने देखिएको छ ।
बैंकिङ क्षेत्रः
बैंकिङ तथा वित्तीय क्षेत्रमा यस सङ्कटले कसरी असर पार्छ भनेर बुझ्नको लागि हामीले सबैभन्दा पहिले बैंक के हो ? भन्ने कुरा बुझ्नु जरुरी रहन्छ । सामान्य रुपमा बुझ्दा बैंक भनेको डिपोजिटरले आफूसँग भएको पैसा सुरक्षित रहने विश्वास सहित हस्तान्तरण गर्ने संस्था हो । यसरी डिपोजिटरबाट संकलन हुन आएको रकमलाई बैंकले विभिन्न प्रयोगमा उपयोग गर्छ । बैंकले त्यही रकमको आधारमा विभिन्न प्रडक्टहरु निकाल्छ । विभिन्न तवरले उक्त रकम बढी मुनाफामूलक क्षेत्रमा लगानी गरी आफ्नो व्यवस्थापन मिलाएर संस्था मुनाफामै रहने गरी थप व्याज सहित वचतकर्तालाई आवश्यक पर्दा उक्त रकम फिर्ता गर्छ ।
नेपालमा विश्वव्यापी कोरोना सङ्कट र लकडाउनको कारण पूर्वअनुमान गरिएभन्दा करिब २० प्रतिशतले रेमिट्यान्समा कमी आउने आँकलन गरिएको छ । पछिल्लो समय नेपालमा करिब ६ खर्ब २६ अर्ब ९ करोड रकम बराबरको रेमिट्यान्स नेपालमा आएको छ । रेमिट्यान्सको जिडिपीमा २७.८ प्रतिशत योगदान रहेको तथ्यांक छ ।
बैंकमा पर्ने असरः
हाल बैंकले लगानी गर्ने वातावरण नभएकोले निक्षेप बढ्ने अवस्था भएर पनि कोरोनाको प्रभावको कारण रकमको माग समेत बढ्ने अवस्था छ । जसले गर्दा बैंकमा भएको निक्षेपले माग पूरा गर्न नसक्ने स्थिति आउन सक्छ । मानिसहरुसँग आयआर्यनका बाटाहरु बन्द भएका छन् । जसले गर्दा उनीहरुले बैंकमा रकम जम्मा गर्ने भन्दा पनि बैंकको आफ्नो खातामा भएको रकम प्रयोगमा ल्याई दैनिक खर्च चलाइरहेको अवस्था छ । यसको अलावा बैंकहरुले ब्याजदर समेत घटाएका छन् । जसले गर्दा बैंकहरुको आर्थिक वृद्धिदरमा यसले असर पु¥याउने देखिन्छ ।
घट्दै रेमिट्यान्सः
नेपालमा विश्वव्यापी कोरोना सङ्कट र लकडाउनको कारण पूर्वअनुमान गरिएभन्दा करिब २० प्रतिशतले रेमिट्यान्समा कमी आउने आँकलन गरिएको छ । पछिल्लो समय नेपालमा करिब ६ खर्ब २६ अर्ब ९ करोड रकम बराबरको रेमिट्यान्स नेपालमा आएको छ । रेमिट्यान्सको जिडिपीमा २७.८ प्रतिशत योगदान रहेको तथ्यांक छ ।
आर्थिक वृद्धिदरमा असरः
अहिलेको अवस्थामा कोरोना सङ्कटको कारण विश्वको आर्थिक वृद्धिदर माइनस ३ प्रतिशतमा रहने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । यस्तो अवस्थामा विश्वका सबै देशहरु कसरी कोरोना संकटबाट आफ्ना नागरिकहरुलाई बचाउने र हाम्रो अवस्था जेनतेन धानिन सक्ने बनाउने भन्नेमा नै केन्द्रित छन् । जसले गर्दा हाम्रा विकासका गतिविधिहरु सुस्ताउने अवस्था छ ।
फर्किंदै विदेशिएका नेपालीहरुः
कामको लागि विदेशिएका नेपालीहरु ठूलो सङ्ख्यामा नेपालमा फर्कने अवस्था छ । परिस्थिति सहज भएसँगै रोजगारीको लागि विदेशिएका २५ देखि ३० लाख नेपालीहरु नेपाल आउन सक्ने आँकलन गरिएको छ । वैदेशिक रोजगारीबाट नेपालमा फर्कने युवाहरुको व्यवस्थापन कसरी गर्न सकिएला भन्ने कुरा नेपालको लागि नयाँ चुनौतीको विषय बनेको छ । कोरोना समापन पश्चात् पनि हाम्रो रेमिट्यान्स निकै नै घट्ने अवस्था छ । अहिले सम्म कोरोनाको भ्याक्सीन बन्न नसकेको अवस्थामा जति छिटो भ्याक्सिन विकास हुन सक्छ, त्यत्ति नै छिटो कोरोना सङ्कट नियन्त्रणमा आउने हुँदा त्यस पश्चात् मात्र हाम्रो अवस्था सहज हुन सक्छ ।
बैंकमा तरलताको अभाव हुन सक्छः
करिब अढाई महिना देखि नेपालका उद्योग व्यवसाय बन्द छन् । यसरी लामो समय बन्द रहेका उद्योग व्यवसायको लागि सञ्चालनमा आएपश्चात् वर्किङ क्यापिटलको आवश्यकता पर्नेछ । नियमित कारोबारको लागि आवश्यक पर्ने रकम समेत अभाव हुन सक्छ । यसको सिधा असर नेपालका बैंकहरुमा तरलतायुक्त रकम अभाव हुन सक्छ ।
नेपालका उद्योगी व्यवसायीहरु समस्यामा रहेको बारे नेपाल सरकार जानकार छ । सोही बमोजिम व्यवसायीलाई परेको अप्ठ्यारो सम्बोधन गर्ने उद्देश्यले नै विभिन्न व्यवस्थाहरु गरेको छ । यसको उद्देश्य भनेको अप्ठ्यारोमा परेकालाई सहुलियत होस् भन्ने हो ।
यस्तो अवस्थामा उद्योग व्यवसाय सञ्चालनको लागि थप रकम आवश्यक पर्छ । यसको लागि नेपाल सरकार लगायत सबै देशहरुका बैंकहरुले बजारमा प्रयाप्त रकम फैलाउनुपर्ने जरुरी रहन्छ । सोही बमोजिम नेपालमा पनि राष्ट्र बैंकले सिसिआर दर घटाएको छ । जसको उद्धेश्य लगानीकर्ताको लगानी गर्न सक्ने क्षमता बढोस् र आत्मबल बढ्न सघाउ पुगोस् भन्ने हो । साथै फिक्स डिपोजिट रकम समेत ग्राहकले उपयोग गरी कर्जा लिन सक्ने व्यवस्था समेत अहिले गरिएको छ । साथै १ बर्षको फिक्स डिपोजिटमा राख्नेलाई पनि बैंकले कर्जा प्रदान गर्न सक्ने गरी व्यवस्था गरिएको छ । यसको साथै बैंकहरुले विगतमा रहँदै आएको ८०ः२० को सिसिडि अनुपातलाई बढाएर ८५ः१५ बनाउन आग्रह गरिरहेका छन् ।
सबल छन् नेपालका बैंकहरुः
नेपालमा अहिले निष्क्रिय कर्जा १.७ को हाराहारीमा छ । जुन दक्षिण एसियामा नै राम्रो अवस्था हो । यसलाई हेर्दा हाम्रो अवस्था राम्रो छ । जसले गर्दा उद्योगी व्यवसायीले रकम माग गरेको खण्डमा उपलब्ध गराउन तत्कालको लागि बैंकहरुलाई अप्ठ्यारो छैन ।
अहिलेको परिस्थितिले गर्दा असर पार्ने क्षेत्र भनेको कर्जा लगानी पनि हुन सक्छ । अहिले उत्पादन वृद्धि हुन नसकेको, घर बहाल, कर्मचारी लगायतका फिक्स खर्च त्यही रेसियोमा रहने तर आयआर्जन नहुने अवस्था रहेको कारण यसले समस्या सृजना हुन सक्ने देखिएको छ । लगानी र रोजगारी सृजनाको हिसाबले अगाडि रहेको होटल क्षेत्र अहिले पूर्ण रुपमा बन्द छ । होटल व्यवसायीहरु दशैं सम्म होटल सञ्चालन गर्न नसक्ने भन्दै आफ्ना पीडाहरु सार्वजनिक गरेका छन् । पर्यटकहरु नेपालमा नआएका र तत्काल आउने अवस्था समेत नरहेको अवस्थामा ती संस्थाले कसरी बैंकबाट लिएको लोन तिर्ने भन्ने प्रश्न पनि सृजना भएको छ ।
उत्पादनमूलक उद्योग, हवाई सेवाप्रदायक कम्पनी, निर्माण, कृषि, तालिम प्रदायक संस्थाहरु लगायत सबैजसो क्षेत्रहरु अहिले समस्यामा छन् । टेलिकम सेवाप्रदायक कम्पनी, हाइड्रोपावर (नेपाल विद्युत प्राधिकरणको मुख्य लाइनमा जोडिएका र विद्युत उत्पादन गरिसकेका आयोजना), खाद्यान्न, किराना पसल एवं सूचना प्रविधि लगायतका क्षेत्रहरुमा भने यसले त्यत्ति अप्ठ्यारो नपरेको हुन सक्छ । अप्ठ्यारोमा परेका उद्योगहरुले कर्जा तिर्न नसक्दा त्यसको असर बैंकलाई समेत पर्ने देखिएको छ ।
राज्यको ध्यान पुगेको छः
नेपालका उद्योगी व्यवसायीहरु समस्यामा रहेको बारे नेपाल सरकार जानकार छ । सोही बमोजिम व्यवसायीलाई परेको अप्ठ्यारो सम्बोधन गर्ने उद्देश्यले नै विभिन्न व्यवस्थाहरु गरेको छ । यसको उद्देश्य भनेको अप्ठ्यारोमा परेकालाई सहुलियत होस् भन्ने हो । नेपालका बैंकहरुले यस आर्थिक बर्ष अन्तरगत विगतका ८ महिना सम्म कमाइ गरेकै छन्, यस्ता बैंक जस्ता आर्थिक कारोबारमा संलग्न उद्योग नभई दीर्घकालिन रुपमा असर पर्ने क्षेत्रमा सहुलियत दिनुपर्छ भन्ने पक्षमा नेपाली बैंकहरु पनि छन् ।
बैंकिङ क्षेत्रमा दीर्घकालिन असरः
लामो समय यही अवस्था रहिरह्यो भने बैंकहरुको निष्क्रिय कर्जा बढ्नेछ । जसले गर्दा बैंकहरुले राम्रो नाफा गर्न सक्दैनन् । साथै मुनाफा वितरण गर्न सक्ने अवस्था बैंकको रहँदैन । यसबाट कतिपय अवस्थामा बैंक तथा वित्तीय संस्थाहरु समेत नोक्सानीमै जान सक्ने अवस्था पनि रहन सक्छ । बैंकहरु नोक्सानीमा गएको खण्डमा बैंक प्रति मानिसहरुको विश्वास घट्ने अवस्था समेत सृजना हुन सक्छ । जनताको डिपोजिटबाट चल्ने संस्था भएको कारण कर्जा नोक्सानी र लोनको रकम प्राप्त नभए बैंकलाई असर पर्ने अवस्था देखिन्छ । यसरी हेर्दा सप्लाइ चेनको रुपमा हाम्रो अर्थतन्त्रमा असर पर्न जानेछ ।
कर्मचारीको दृढता र प्रविधि विकासमा लगानी बढाउन जरुरी
अहिले हामी सबै त्रासमा छौं । जसले गर्दा हाम्रो आत्मविश्वास घटेको छ । यस्तो मनोवैज्ञानिक त्रासले हाम्रो उत्पादकत्व घटाउन सक्छ । यसलाई विचार गर्दै नेपाली बैंकहरुले नयाँ प्रविधिमा आधारित सेवा, तालिम तथा सीप विकासको लागि प्रयाप्त लगानी गर्नु जरुरी छ । कर्मचारीले घरबाटै काम गर्नुपर्दा सेवालाई प्रभावकारी बनाउन उनीहरुको साहस र जाँगर बढाउन सकिने उत्प्रेरक कार्यक्रम निकै नै प्रभावकारी बन्न सक्छन् ।
वीमामा असर
राष्ट्रिय वीमा वोर्डले कोरोना वीमा सम्बन्धी कुरा उठान गरेको छ । तैपनि यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । सबै वीमा सेवाप्रदायक संस्थाहरु बन्द छन् । कारोबार भएको छैन । जीवन वीमा पनि लक्ष्य बमोजिम हुन सक्ने अवस्था छैन । वीमितले आयआर्जन भएमात्र वीमा नवीकरण गर्ने हो । प्रयाप्त पुँजी भएको खण्डमा मात्र वीमा गरिने हो । यसरी हेर्दा अहिलेको परिस्थितिले वीमा क्षेत्रमा पनि ठूलो असर पर्ने देखिन्छ ।
माइक्रोफाइन्समा असर
माइक्रोफाइनान्स अन्तरगत साना पसलेहरुलाई यस संकटले असर पर्ने देखिएको छ । तरकारी खेती, बाख्रापालन, फलफूल खेती, डेरी लगायतका व्यवसाय अहिले ठप्प छन् । न त सहजै कर्मचारीले पनि सामुहिक वैठक सञ्चालन गर्ने अवस्था नै छ । यसरी लघुवित्त अन्तरगत पर्ने अधिकांश कार्य बन्द भएको कारण समयमा कर्जा उठ्न समस्या सृजना हुने निश्चित छ । यस्तो अवस्थालाई विचार गर्दै लघुवित्त संघले पनि १ बर्ष रकम भुक्तानीको लागि समय थपिदिनुपर्छ भनेर आग्रह गरेको छ । साथै समस्यामा परेका व्यवसायीहरुसँग प्रत्यक्ष वार्ताको माध्यमबाट बैंक तथा लघुवित्त सेवाप्रदायक संस्थाले थप कर्जा तथा अन्य प्राविधिक सहयोग गरेर नयाँ तवरले अघी बढाउनु जरुरी छ ।
कोरोना संकटले सिकाएका पाठः
यस संकटले हामीलाई परनिर्भर नहोऔं भन्ने मुख्य पाठ सिकाएको छ । नेपालमा काम गर्न हिच्किचाउने नेपाली पनि विदेशमा सहजै काम गर्न तयार हुने अवस्था अहिले सम्म छ । जुन गलत हो । तर अब भने हामीलाई आत्मनिर्भरताको बाटोमा अघी बढ्न यस संकटले प्रोत्साहित गरेको छ । नेपालमा गर्ने हो भने हरेक कुरा सम्भव छ । यसकारण म पनि भन्छु कि नेपालमा नै रहेर कृषि कार्य गरौं । नेपाली बनौं, स्वदेशी वस्तुकै प्रयोग गरौं । आफैंले तरकारी उत्पादन गर्ने प्रयाश गरौं । हाम्रो नेपाल प्राकृतिक रुपमा पनि सुन्दर छ । हामीसँग जे छ त्यसको सदुपयोग गरौं । प्रकृतिको यस किसिमको सुन्दरताको उपयोग गरौं । पर्यटनमा नयाँ फस्टाउन सक्ने क्षेत्रको पहिचान गरी त्यसमा काम गरौं ।
नेपालका अबका सम्भावना
६ सिजन भएको नेपाल निकै प्राकृतिक रुपमा राम्र्रो र सुन्दर देश हो । क्यानडामा ४ महिना हिउँ परेर काम गर्न समस्या पर्छ । नेपाल स्वस्थ हावापानी भएको देश हो । हेर्दा सुन्दर छ । यस्तो सम्भावनायुक्त देशमा सानासाना कुरा समेत बाहिरबाट ल्याउनुपर्ने अवस्थालाई कम गरौं । नेपालकै गाउँमा उत्पादन हुने वस्तु शहर ल्याउँ । मुस्ताङको स्याउ, गुल्मीको सुन्तला र कफीको सही तवरले सदुपयोग गरौं । साथै यी उत्पादनमा प्रविधिको प्रयोग गरेर थप प्रशोधन सहित भ्यालु एड गर्ने प्रयाश गरौं । लामो समय नबिग्रने बनाउन उपयुक्त प्रविधि प्रयोग गरौं । कामको आत्मसम्मान गरौं ।
सरकारको दायित्व
सरकारसँग यथेष्ट पैसा छैन । सरकारले आफूसँग भएमात्र सहुलियत दिने हो । अन्तर्राष्ट्रिय जगतबाट सहुलियत रकम हामीले संकलन गर्ने राजस्वबाट प्रदान गर्ने हो । लोनको जिडिपी रेसियो नेपालमा अहिले ३० प्रतिशत मात्र छ । जुन अन्य अन्य देशको तुलनामा कम भएपनि त्यो तिर्नैपर्ने लोन हो । धेरै लोन लिनु पनि राम्रो उपाय होइन ।
अबको विकल्प
अहिलेको हाम्रो पहिलो प्राथमिकता कोरोना नियन्त्रण र जीवन सुरक्षित राख्न नै केन्द्रित हुनु जरुरी छ । यसको लागि हामीले विशेष तवरले स्वास्थ्यमा प्रयाप्त लगानी गर्नु जरुरी छ ।
यसको अलावा अर्थतन्त्र चलायमान बनाउने कार्य हाम्रो लागि अर्को महत्वपूर्ण कार्य हुनेछ । कठिन परिस्थितिको कारण अहिले राज्य समस्यामा छ । लकडाउन गर्दा अर्थतन्त्र कमजोर बन्ने अवस्था छ भने खोल्दा संक्रमण बढ्न सक्ने अवस्था छ । यस्तो अवस्थामा हामी आफैं जसरी हुन्छ सुरक्षित रहेर काम गर्न सचेत जरुरी रहन्छ । हामी सबै सचेत रहने हो भने कोरोना नेपालमा महामारीको रुपमा फैलिन सक्दैन । महामारीको रुपमा कोरोना फैलियो भने हामी सबै समस्यामा पर्नेछौं, यसकारण राज्यले बनाएका नियमहरु पालना गर्दै हामी आफू पनि बचौं, अरुलाई पनि बचाउँ । यसमा नै हामी सबैको कल्याण हुनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।