add

दमौली बजारमा सडक विस्तारले गति लिँदै, ७४ घरटहरा भत्काइने






ActPro Nepal

|

१२ कार्तिक, २०८१

|
303

दमौली । निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन ।

दमौली बजारमा डिजाइन सेन्टरबाट २३/२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार दमौली बजार खण्डमा नाला निर्माण भइरहेको छ ।

पाण्डेले भने, ‘केही समय पहिला बिजुलीको नयाँ पोलहरु गाडीएको छ । बिजुलीको पोललाई आधार मानेर त्यसभित्र सडक विस्तार हुनेछ ।’ पाण्डेकाअनुसार सडकविन्दुबाट १२.२५ मा नाला निर्माण हुनेछ । बिजुलीको पोलभन्दा बाहिर दुई मिटरमा पैदलमार्ग निर्माण गरिने उनले जानकारी दिए ।

पाण्डेले भने, ‘दसैँ बिदा अगाडिदेखि काम सुरु गरिएकामा दसैँ बिदा सकिएपछि कामले झनै गति लिएको छ । मुग्लिन पोखरा सडकको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी, बन्दीपुरमा कामले गति लिँदा सदरमुकाम दमौलीमा काम हुन सकिरहेको थिएन ।’

सडक विस्तारका क्रममा दमौली बजारका ७४ घरटहरा भत्काइनेछन् । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्छन् । केही लाभग्राहीले पहिलो किस्ता बापतको रकम बुझिसकेको पाण्डेले बताए ।

पूर्वी खण्डमा आर्थिक वर्ष २०८०/८१ मा एकतर्फी रुपमा ५५ किलोमिटर दुई लेन कालोपत्र भएको छ । हालसम्म भने एकतर्फी रुपमा ६३ किलोमिटर कालोपत्र सकिएको पाण्डेको भनाइ छ ।

पाण्डेकाअनुसार पूर्वीखण्ड अन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र १०३ वटा कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिए । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत २०० पाइल निर्माण सकिएको र अब स्ल्याब र बिम बनाउने चरणमा पुगेको उनले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा भूक्षय रोकथामका लागि विभिन्न ठाउँमा बायो इन्जिनियरिङको काम गरिएको छ । त्यस्तै पहिरोजन्य समस्याले पनि काममा अवरोध पुगेको थियो । त्यस वर्षका लागि आयोजनाका लागि पूँजीगततर्फ रु २ अर्ब ९९ करोड बजेट विनियोजन भएकामा रु २ अर्ब १४ करोड खर्च भएको जनाइएको छ ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.